चाडपर्वमा शिक्षकको तलब रोके प्रधानाध्यापक कारबाहीमा पर्ने चेतावनी मन्त्री पुनको

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले चाडपर्वको संवेदनशील समयमा शिक्षकहरूको तलब रोक्ने विद्यालय प्रमुखलाई कठोर कारबाही गर्ने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले केही विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले शिक्षकलाई समयमै तलब नदिएको गुनासो मन्त्रालयमा आइरहेको जानकारी गराएका छन्।
उनले शिक्षकमाथि हुने यस्ता अन्यायलाई तत्काल अन्त्य गर्न निर्देशनसमेत दिएका छन्। मन्त्री पुनका अनुसार शिक्षा मन्त्रालयले विद्यालयहरूलाई आवश्यक बजेट पहिल्यै पठाइसकेको छ। त्यसैले शिक्षकले तलब पाउन नसक्ने कुनै औचित्य नरहेको उनले स्पष्ट पारे। ‘सरकारले तलबको रकम समयमै विद्यालयमा पठाइसकेको छ।
अब आइतबार सम्म पनि कुनै बहाना देखाएर तलब रोकेमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई कानूनी रूपमा कारबाही गरिनेछ,’ मन्त्री पुनको भनाइ छ। उनले शिक्षकहरूलाई चाडवाडमा अपमानित हुने अवस्थाबाट जोगाउन राज्य गम्भीर रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा अनुशासन र उत्तरदायित्व जरुरी भएको पनि बताए।