साउदीमा फसेका ४६९ नेपालीको बिषय उठ्यो संसदमा

सांसद ज्ञानेन्द्र शाही संसदमा ४६९ साउदी फसेका नेपालीको उद्धारको माग गर्दै
काठमाडौं — साउदी अरेबियाको जुबेलस्थित सेन्दान इन्टरनेशनल कम्पनी बन्द भएपछि ४६९ जना नेपाली कामदारहरू तीन महिनादेखि अत्यन्तै कठिन परिस्थितिमा फसेका छन्। विगत कैयौं महिनादेखिको तलब नपाएका नेपालीहरू अहिले बसिरहेको क्याम्पको अवस्था एकदमै दयनीय रहेको, र कागजातको अभावमा उनीहरू घर फर्कन नसकेको विवरण खोज समाचारले हिजो मात्रै विस्तृत रूपमा सार्वजनिक गरेको थियो।
रिपोर्ट सार्वजनिक भएपछि सांसद ज्ञानेन्द्र शाहीले आज संघीय संसदमा सो विषय उठाउँदै सरकारलाई तुरुन्त उद्धार प्रक्रिया अघि बढाउन आह्वान गरेका छन्। उनले यो कुनै राजनीतिक मुद्दा नभई मानवताको संकट भएको बताएका छन्।
कामदारहरूका अनुसार, कम्पनीको आन्तरिक व्यवस्थापन विफल भएपछि कम्पनी बन्द भएको हो। त्यसपछि कम्पनीले उनीहरूको तलब नदिएको, र रेसिडेन्सी पेपर (इकामा) नवीकरण नगरिदिएको कारणले अहिले उनीहरू साउदीमै कैदी बन्दी जस्तै बस्न बाध्य भएका छन्।
क्याम्पमा खानेकुराको अभाव छ, फोहोर उठ्दैन, शौचालयहरू दुर्गन्धित छन्, र बिरामी हुँदा उपचार गर्न पैसा छैन। खोज समाचारसँगको कुराकानीमा त्यहाँ फसेका एक पीडित नेपालीले यस्तो गुनासो व्यक्त गरेका हुन्।
सबैभन्दा चिन्ताको कुरा त के छ भने अबको ३७ दिनपछि उनीहरूको दुई वर्षे भिसा सकिँदैछ। त्यसपछि उनीहरू साउदीको कानुन अनुसार गैरकानुनी हैसियतमा परिणत हुने छन्। यस्तो अवस्थामा उनीहरूलाई कुनै पनि निकायले कानुनी सहायता गर्न सक्दैन।
संसदमा गुञ्जियो ४६९ नेपालीको पीडा
यही विषयमा आजको प्रतिनिधि सभाको बैठकमा सांसद शाहीले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै तत्कालिन उद्धारको माग गरेका छन्। “यी युवाहरूले रेमिट्यान्स पठाएर देश चलाएका छन्, आज उनीहरूलाई सरकारले बेवास्ता गर्नु अपराध सरह हो” सांसद शाहीले भने। त्यसैगरी उनले परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र साउदीस्थित नेपाली दूतावासको कमजोरीप्रति गम्भीर टिप्पणी गरेका छन्।

खोज समाचारको पहल र जिम्मेवारी
खोज समाचारले यस विषयलाई गम्भीरताका साथ उठाउँदै, प्रत्यक्ष श्रमिकहरूसँग संवाद गरेर प्रमाणसहित विस्तृत रिपोर्ट तयार गरेको थियो। संसदमा उठेको आवाज पनि यही रिपोर्टकै आधारमा आएको कुरा सांसद शाहीले स्वयं पुष्टि गरेका छन्। अब सरकारको तर्फबाट ढिलाइ गर्नु उपयुक्त हुने छैन। तात्कालिक रूपमा उद्धार प्रक्रिया सुरु नगरे यो ठूलो मानवीय संकट बन्न सक्छ। त्यसैले सम्बन्धित सरोकारवालासमक्ष हामी फेरि पनि गम्भीर अनुरोध गर्न चाहन्छौँ — चाँडो भन्दा चाँडो उद्दारको कार्य सुरु गरियोस्।
हेर्नुहोस्: खोज समाचारले तयार पारेको विस्तृत रिपोर्ट – YouTube
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
- Roshan Shrestha App ले तोड्यो नेपाली एपको रेकर्ड, ३ महिनामै विश्वका ७ देशमा नम्बर १
- भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईका कार्यकर्तामाथि ज्यान मुद्दा
- मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ घट्यो
- संजाल देखि डराएको सरकार
- कुलमान घिसिङ हटाइए, हितेन्द्र देव शाक्य नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त