प्रचण्डले कार्यकारी जिम्मेवारी बदल्ने संकेत, आन्दोलन त्याग होइन: वर्षमान पुन

खोज समाचार
खोज समाचार
2025 September 26, Friday
📊 यो समाचारलाई अहिलेसम्म 793 जनाले हेरेका छन्।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी भूमिका बदल्ने भनाइलाई आन्दोलन छाड्ने होइन, पार्टी रूपान्तरण र नयाँ जिम्मेवारीतर्फको सकारात्मक कदमको रूपमा व्याख्या गरेका छन्।
प्रचण्डले कार्यकारी जिम्मेवारी बदल्ने संकेत, आन्दोलन त्याग होइन: वर्षमान पुन

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको पार्टी रूपान्तरणसम्बन्धी प्रस्तावलाई उचित भन्दै समर्थन गरेका छन्। बिहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा धारणा राख्दै पुनले पार्टीलाई राजनीतिक र वैचारिक दुवै हिसाबले नयाँ उचाइमा पुर्‍याउन आवश्यक रहेको बताए।

उनले अध्यक्ष दाहालले नेतृत्व शैली र प्रणालीमा क्रमभंग गर्नुपर्ने प्रस्ताव अघि सारेको र यो समयानुकूल रहेको धारणा राखे। उनका अनुसार प्रस्तावले आन्दोलन त्याग्ने भन्ने होइन, तर भूमिकाको पुनःपरिभाषा गर्दै परिस्थितिअनुसार नयाँ जिम्मेवारी र विधि तय गर्ने हो। “महाधिवेशनमार्फत गहिरो छलफल गरेर अघि बढ्नुपर्छ,” पुनले भने।

पुनले पदाधिकारीहरू बीच त्यागको भावना बढिरहेको उल्लेख गर्दै यसलाई शंका गर्ने दृष्टिले हेर्न नहुने बताए। “अध्यक्षले आफूबाट सुरू गर्ने कुरा गर्नुभएको छ। पदाधिकारीहरू पद छाड्न तयार छन् भन्ने लोभ होइन, प्रतिबद्धता हो,” उनले स्पष्ट पारे। उनका अनुसार अध्यक्ष दाहालले कार्यकारी भूमिका छाड्ने भनाइलाई समाजवादी आन्दोलन वा साम्राज्यवादविरुद्धको लडाइँ त्याग्ने भनेर बुझ्न नहुने हो। बरु सकारात्मक ढंगले जिम्मेवारी पुनःव्यवस्थित गर्ने संकेत हो।

पुनले नेताहरूलाई विचार–केन्द्रित छलफलमा जुट्न आह्वान गर्दै परिवर्तनलाई व्यक्तिगत होइन, सामूहिक दृष्टिले स्वीकार गर्नुपर्नेमा जोड दिए। “आजका प्रश्नहरूको जवाफ नयाँ सोचका साथ दिनुपर्छ,” उनले भने। माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अहिले समूहगत छलफलपछि पदाधिकारीहरूले व्यक्तिगत धारणा राख्ने चरणमा पुगेको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: