राष्ट्रपति रामचन्द्र पौडेल दोहा प्रस्थान, ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज कतारको राजधानी दोहा प्रस्थान गरेका छन् । उनी कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दोहा गएका हुन् ।
राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले बिदाई गरे । सो अवसरमा सरकारका उच्च पदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख तथा नेपालस्थित विदेशी कूटनीतिक प्रतिनिधिहरू उपस्थित थिए । नेपाली सेनाले राष्ट्रपति पौडेललाई सम्मान गारत अर्पण गरेको थियो ।
राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रमा सम्बोधन गर्ने कार्यसूची रहेको छ । सो क्रममा उनले कतारका अमिर शेख तमिम बिन हमद अल थानी र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देशका विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
संयुक्त राष्ट्रसंघको निर्णयअनुसार ३० वर्षपछि दोहामा हुन लागेको यो दोस्रो सम्मेलन हो । यसअघि पहिलो सम्मेलन सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा सम्पन्न भएको थियो ।
यसपटकको सम्मेलनमा विश्वभर बढ्दो विकास असमानता, जनसङ्ख्याको असन्तुलन र प्रविधिको प्रभावले समाजमा ल्याएका परिवर्तनबारे गहन छलफल हुने बताइएको छ । सम्मेलनले सामाजिक विकासका लागि सहकार्य र साझा प्रतिबद्धता व्यक्त गर्ने लक्ष्य राखेको छ ।
राष्ट्रपति पौडेलसँग उनकी धर्मपत्नी सविता पौडेल, सञ्चारविज्ञ किरणकुमार पोखरेल, राष्ट्रपति कार्यालयका सचिव र अन्य वरिष्ठ अधिकारीहरू सहभागी छन् । पौडेल यही कात्तिक २० गते स्वदेश फर्कने कार्यक्रम छ ।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- राम कार्कीको आत्मस्वीकारोक्ति: हाम्रो पुस्ताले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्न सकेन
- गगन थापाले पेस गरे कांग्रेस १५औं महाधिवेशनको नयाँ कार्यतालिका
- गोरखाबाट सामाजिक अभियन्ता निकोलस भुसाल पक्राउ परे
- ज्ञानेन्द्र शाहीको आग्रह: राप्रपा नेताहरूले फुट होइन, एकता देखाउनुपर्ने समय हो
- सुन र चाँदी दुवैको मूल्यमा गिरावट