किसान श्रेष्ठको भनाइ — एमाले हाम्रै घर हो, फर्कने ढोका जहाँबाट खुले पनि प्रवेश गर्न तयार छौं

खोज समाचार
खोज समाचार
2025 November 3, Monday
📊 यो समाचारलाई अहिलेसम्म 114 जनाले हेरेका छन्।
एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले माओवादीसँगको एकीकरण र पुनःगठन अभियान दुबैमा नजाने स्पष्ट गर्दै नेकपा (एमाले) फर्कने तयारीमा रहेको बताएका छन्। उनले सोमबारसम्म अन्तिम निर्णय हुनसक्ने बताउँदै आफूहरू पदका लोभी नभई सम्मानका खोजीमा रहेको बताएका छन्।
किसान श्रेष्ठको भनाइ — एमाले हाम्रै घर हो, फर्कने ढोका जहाँबाट खुले पनि प्रवेश गर्न तयार छौं

पूर्व सांसद र नेकपा (एकीकृत समाजवादी)का प्रभावशाली नेता किसान श्रेष्ठले आफ्नो समूह एमालेमा फर्कन तयार रहेको खुलासा गरेका छन्। उनले हाल एमाले नेतृत्वसँग औपचारिक रूपमा संवाद भइरहेको र सोमबारसम्म ठोस निष्कर्ष आउने सम्भावना रहेको बताएका छन्।

श्रेष्ठका अनुसार, आफूहरू न माओवादी केन्द्रसँगको एकीकरण प्रक्रियामा जान्छन्, न त झलनाथ खनाल र घनश्याम भूसालले अघि बढाएको पुनःगठन अभियानमा सहभागी हुने सोचमा छन्। “अब बीचमै अल्झिएर बस्ने अवस्था छैन,” उनले भने, “एमालेमा फर्कने विषयमा कुरा भइरहेको छ, आजभोलि कुनै निष्कर्ष निस्कन्छ।”

श्रेष्ठले एमाले फर्कने तयारीमा धेरै नेता र कार्यकर्ता रहेको बताए। उनका अनुसार, रामकुमार झाक्री, अमरबहादुर थापा, वंशिधर मिश्र, होम बुढाथोकी, पीताम्बर तिमिल्सिना, अर्जुन राई लगायतका नेता सो समूहमा छन्। “केन्द्रीय नेतामात्र होइन, जिल्ला र प्रदेशस्तरका कार्यकर्ताहरू पनि एमालेमै फर्कने तयारीमा छन्,” श्रेष्ठले जोड दिए।

श्रेष्ठले आफूहरूलाई पद वा विशेष जिम्मेवारीभन्दा पनि सम्मान र व्यवहारको आवश्यकता रहेको बताएका छन्। “हामीलाई मीठो बोलिदिए पुग्छ, इज्जत गरिदिए पुग्छ,” उनले भने, “हामी पदका लोभी होइनौं, पार्टीमा अपमानित हुन नपरोस् भन्ने मात्र चाहना हो।” एमाले अध्यक्ष केपी शर्मा ओलीले समूहगत प्रवेश नहुने बताएका विषयमा श्रेष्ठले कुनै आपत्ति नभएको बताए। “एमाले त हाम्रो आफ्नै घर हो,” उनले हाँस्दै भने, “कम्पाउन्डबाट छिराउँछन् कि गेटबाट, त्यो उनीहरूको कुरा हो।”

गत हप्तामात्र एकीकृत समाजवादीले माओवादी केन्द्रसहितका दलसँग एकीकरणको प्रस्ताव स्वीकृत गरेको थियो। त्यसपछि आइतबार ८ वटा दलबीच एकता सहमति पनि भएको छ। तर किसान श्रेष्ठजस्ता नेताहरूले भने त्यस निर्णयमा असहमति जनाउँदै एमाले फर्कने संकेत दिएका छन्।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: