हर्क साम्पाङको माग : सुशीला कार्की राजीनामा दिनुपर्छ, म जेन्जीको माग पूरा गर्छु

काठमाडौँ — धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन्। उनले जेनरेशन–जेड (GenZ) आन्दोलनले उठाएका प्रश्न र मागअनुसार काम गर्न कार्की असफल भएको दाबी गर्दै तत्काल पदत्याग गर्न आग्रह गरेका हुन्।
साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भने, “सुशीला जी, तपाईंले जेन्जीको मर्म अनुसार काम गर्न सक्नुभएन। राजीनामा दिनुस्, म ती मागहरू एकएक गरेर पूरा गर्ने जिम्मा लिन्छु।” साम्पाङले आफू जनताको आवाज बुझ्ने पक्षमा रहेको र जेन्जी आन्दोलनले उठाएका मुद्दालाई व्यवहारिक रूपमा सम्बोधन गर्ने दाबी गरेका छन्।
उनले आन्दोलनकारी युवाको ऊर्जा र अपेक्षालाई सम्मान गर्दै, आफ्नो नेतृत्वमा समाधान खोजिने आश्वासन दिएका छन्। उनको यो अभिव्यक्ति पछिल्लो समय युवाहरूको चासो र असन्तुष्टिलाई केन्द्रमा राखेर आएको देखिन्छ। साम्पाङले स्पष्ट रूपमा संकेत गरेका छन् कि, वर्तमान अन्तरिम नेतृत्वले समयानुकूल कदम चाल्न नसकेको अवस्थामा आफू विकल्पका रूपमा अगाडि आउन तयार छन्।