ज्ञानेन्द्र शाहीको आग्रह: राप्रपा नेताहरूले फुट होइन, एकता देखाउनुपर्ने समय हो
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टीभित्र देखिएको गुटबन्दीप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शम्शेर राणालाई एकताको सन्देश दिएका छन्। शाहीले हालको राजनीतिक परिस्थितिमा राप्रपाको आन्तरिक विभाजनले राष्ट्रवादी आन्दोलन कमजोर बन्न सक्ने भन्दै दुवै नेतालाई एकढिक्का भएर अघि बढ्न आग्रह गरेका हुन्।
महामन्त्री राणाले मंगलबार बालुवाटारमा आफूपक्षीय पदाधिकारी र केन्द्रीय सदस्यहरूको भेला आयोजना गरेपछि शाहीले प्रतिक्रिया स्वरूप सबै नेताहरूलाई ‘फुट होइन, जुट’ को सन्देश दिएका हुन्। उनले भने, “अध्यक्ष लिङ्देन वा महामन्त्री राणा जसले पनि गुटगत भेलाहरू गर्नुभन्दा अहिले राष्ट्रको हितका लागि मिलेर काम गर्न आवश्यक छ।”
शाहीले कुरा गर्दै थपे, “राष्ट्रवादीहरूबीचको फुटले पार्टी मात्र होइन, देशको भविष्यलाई पनि असर गर्छ। यदि एकता सम्भव छैन भने युवाहरूको भविष्यसँग खेलवाड नगर्नुहोस्।” शाहीले सामाजिक सञ्जालमा लेख्दै नेताहरूलाई व्यक्तिगत स्वार्थ र अहमभन्दा माथि उठ्न र राष्ट्रहितलाई प्राथमिकता दिन अनुरोध गरेका छन्।
उनका अनुसार, “राप्रपाको भविष्य जनताको विश्वासमा टिकेको छ। त्यसलाई फुटका माध्यमबाट कमजोर पार्ने कुनै पनि प्रयास अस्वीकार्य हुनेछ।” शाहीको भनाइले पार्टीभित्र देखिएको तनावबीच एकताको आवश्यकता झल्काएको छ, जसले राप्रपाको आगामी राजनीतिक दिशामा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।