धवल शम्शेरले बोलाए राप्रपाको छुट्टै भेला
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणाले पार्टीभित्रको हालको स्थिति र आगामी महाधिवेशनबारे छलफल गर्न आफूनिकट पदाधिकारी र केन्द्रीय सदस्यहरूको भेला बोलाएका छन्। महामन्त्री राणाको पहलमा हुने यो भेला आज (मंगलबार) दिउँसो १२:३० बजेबाट बालुवाटारस्थित नेपाल हाउसमा सुरू हुनेछ।
राणानिकट एक केन्द्रीय सदस्यका अनुसार, बैठकमा संगठन सुदृढीकरण, महाधिवेशन तयारी, र नेतृत्वबीचको समन्वयका विषयमा गम्भीर छलफल हुने अपेक्षा गरिएको छ। राणाले अघिल्ला महिनादेखि नै मंसिर १७ भित्रै नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने बताउँदै आएका छन्। तर अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्ला र प्रदेश अधिवेशनका कारण मंसिर मसान्तसम्म समय आवश्यक पर्ने बताउँदै आएका छन्।
राप्रपाको पछिल्लो महाधिवेशन २०७८ मंसिरमा सम्पन्न भएको थियो। त्यसअनुसार आगामी मंसिर १८ मा पार्टीको चारवर्षे कार्यकाल सकिँदैछ। यद्यपि, विगतमा ‘विशेष परिस्थिति’ जनाउँदै कार्यकाल एक वर्ष थपिएको थियो। पछिल्लो समय पार्टीमा महाधिवेशनको मिति र प्रक्रिया सम्बन्धी मतभेद तीव्र बनेको छ।
अध्यक्ष लिङ्देनले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमार्फत कात्तिक २७ र २८ गते केन्द्रीय समिति बैठक आह्वान गरिसकेका छन्। तर राणापक्षले भने नेतृत्वको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै वैकल्पिक तयारी अघि बढाएको देखिन्छ। गत माघमा बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री राणाले अध्यक्ष लिङ्देनको कार्यशैलीप्रति असहमति जनाउँदै छुट्टै ६ पृष्ठको राजनीतिक प्रतिवेदन समेत पेस गरेका थिए।
पार्टीका पर्यवेक्षकहरूले बालुवाटारको भेला राणापक्षीय संरचनाको पुनःसक्रियता हो भन्ने मूल्यांकन गरेका छन्। यसले आगामी महाधिवेशनमा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत दिएको छ।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- राम कार्कीको आत्मस्वीकारोक्ति: हाम्रो पुस्ताले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्न सकेन
- गगन थापाले पेस गरे कांग्रेस १५औं महाधिवेशनको नयाँ कार्यतालिका
- गोरखाबाट सामाजिक अभियन्ता निकोलस भुसाल पक्राउ परे
- ज्ञानेन्द्र शाहीको आग्रह: राप्रपा नेताहरूले फुट होइन, एकता देखाउनुपर्ने समय हो
- सुन र चाँदी दुवैको मूल्यमा गिरावट