रवि लामिछानेको बिगो बराबर धरौटी निवेदनमाथि आज उच्च अदालतमा सुनुवाइ
बुटवल — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि चलिरहेको सहकारी ठगीसम्बन्धी मुद्दाको आज बुटवलस्थित उच्च अदालत तुलसीपुर इजलासमा सुनुवाइ हुँदैछ। अदालतका न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा आज बिहीबारका लागि पेसी तोकिएको हो।
सोही इजलासमा गोर्खा मिडियाका पूर्व सञ्चालक तथा पूर्व डिआइजी छविलाल जोशीको निवेदनमाथि पनि सुनुवाइ हुने भएको छ। जोशीले पनि धरौटीमा रिहाइको माग गर्दै अदालतमा निवेदन दिएका छन्। बुटवल उच्च अदालतका रजिस्ट्रार अमित उप्रेतीका अनुसार यी दुवै मुद्दा आपसमा सम्बन्धित भएकाले एउटै इजलासमा राखेर सुनुवाइको तयारी गरिएको हो।
यसअघि उच्च अदालतले रवि लामिछानेको मुद्दामा रुपन्देही जिल्ला अदालतबाट माग गरिएको कैफियत प्रतिवेदन प्राप्त गरेपछि पेसी तोकेको हो। भदौ ११ गते न्यायाधीश सागर विष्टको इजलासले जिल्ला अदालतले दिएको आदेश र मिसिलका आधार स्पष्ट पार्न निर्देशन दिएको थियो।
लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गर्दै आफूले बिगो रकम बुझाउन तयार भएको तर जिल्ला अदालतले रिहाइ नदिएको उल्लेख गरेका थिए। उनले आफ्नो दायित्वअनुसार दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको धरौटी बुझाएर मुक्त गर्न माग गरेका थिए।
तर रुपन्देही जिल्ला अदालतले साउन २६ गते उक्त निवेदन खारेज गर्दै बिगो रकम पूर्णरूपमा यकिन भइनसकेको र थप प्रमाण संकलन बाकी रहेको कारण देखाउँदै धरौटीमा रिहाइ सम्भव नभएको ठहर गरेको थियो। अदालतले सहकारी ऐन २०७४ र सङ्गठित अपराध ऐन २०७० अन्तर्गत अभियोग दाबी दर्ता भएको भन्दै, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७१ अनुसार हालको अवस्थामा बैंक ग्यारेन्टीमा तारेखमा राख्ने अवस्था नदेखिएको उल्लेख गरेको छ।
सुप्रिम बचत तथा ऋण सहकारीमा भएको ठगी प्रकरणमा लामिछाने पुर्पक्षका लागि नख्खु कारागारमा छन् भने सहकारीमा संलग्न अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान जारी छ।