प्रचण्डले राजनीतिक प्रस्ताव ल्याउने, माओवादी बैठक सुरु

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो केन्द्रीय समिति बैठक राजधानीस्थित प्रज्ञा भवनमा सुरु गरेको छ। बैठकको प्रारम्भमा महासचिव देव गुरुङले कार्यसूची प्रस्तुत गरेका छन्। कार्यसूचीअनुसार बैठक श्रद्धाञ्जली कार्यक्रममा सुरु भई त्यसपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रस्ताव पेस गर्ने तयारी छ। प्रस्ताव प्रस्तुत भएपछि सदस्यहरूले विस्तृत छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ।
यस बैठकमा आगामी फागुन २१ गते हुने आम निर्वाचन, विशेष महाधिवेशनका तयारी, पार्टी एकता र ध्रुवीकरणका विषयलाई विशेष प्राथमिकतासाथ उठाइनेछ। त्यस्तै, राहत तथा पुनर्निर्माण, संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार लगायतका विषयमा समेत छलफल हुनेछ। पार्टी स्रोतका अनुसार जनपरिचालन, रणनीतिक कार्ययोजना र अन्य विविध विषयसमेत बैठकको एजेन्डामा रहेका छन्। बैठकले आगामी महिनाहरूका लागि ठोस नीतिगत मार्गनिर्देशन दिने अपेक्षा गरिएको छ।