चाडपर्वमा ललितपुर–मकवानपुर–सिन्धुली मार्गमा विशेष सवारी नियमन

ललितपुर — चाडपर्वमा बढ्ने यात्रुको चापलाई ध्यानमा राख्दै ललितपुर जिल्ला प्रशासन कार्यालयले असोज ७ देखि २१ गतेसम्म विशेष यातायात व्यवस्थापन गर्ने घोषणा गरेको छ। यस अवधिमा मकवानपुर–सिन्धुली जाने सार्वजनिक तथा निजी यात्रुवाहक सवारीसाधनलाई कान्ति लोकपथमार्ग हुँदै आवतजावत गर्न समयसीमा र प्रावधान तोकिएको छ।
प्रशासनका अनुसार अधिकतम १० चक्के र ३० टन क्षमतासम्मका भारी सवारीसाधनलाई बेलुकी ९ बजेसम्म तोकिएका प्रवेश–प्रस्थान बिन्दुमा अनिवार्य रुपमा पुगिसक्नुपर्ने व्यवस्था गरिएको छ। मकवानपुरतर्फबाट आउने सवारीका लागि बगुवा (बागमती गाउँपालिका–२) प्रवेश बिन्दु तोकिएको छ भने ललितपुरतर्फ जाने सवारीका लागि टीकाभैरव (गोदावरी नगरपालिका–६) प्रस्थान बिन्दु कायम गरिएको छ।
मनसुन अझै सक्रिय भएकाले पहिरो तथा अन्य प्राकृतिक जोखिम रहिरहेकाले यात्रु र चालकलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ। सुरक्षाकर्मीको निर्देशनअनुसार मात्र सवारी सञ्चालन गर्न, लेन अनुशासन कडाइका साथ पालना गर्न र सम्भावित जोखिमलाई ध्यानमा राख्न विशेष अनुरोध गरिएको छ।