रुपन्देहीमा मतदाता दर्ताको रेकर्ड वृद्धि: यसपालि थपिए झन्डै साढे १० हजार नयाँ नाम

खोज समाचार
खोज समाचार
2025 November 15, Saturday
📊 यो समाचारलाई अहिलेसम्म 103 जनाले हेरेका छन्।
रुपन्देहीमा प्रतिनिधिसभा चुनाव नजिकिँदै जाँदा मतदाता नामावली दर्ताका लागि भीड तीव्र रूपमा बढ्दै गएको छ। असोज १० देखि कार्तिक २८ सम्म मात्र १० हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्, जसमा अधिकांश युवा छन्। दर्ता चाप बढेपछि कार्यालयले शनिबार पनि सेवा खुला गर्ने निर्णय गरेको छ।
रुपन्देहीमा मतदाता दर्ताको रेकर्ड वृद्धि: यसपालि थपिए झन्डै साढे १० हजार नयाँ नाम

अन्तरिम सरकारले प्रतिनिधिसभा चुनावको मिति फागुन २१ घोषणा गरेपछि रुपन्देहीसहित देशभर मतदाता नामावली दर्तामा उत्साहजनक वृद्धि देखिन थालेको छ। निर्वाचन आयोगले असोज १० गतेदेखि नामावली संकलन खुलाएपछि जिल्ला निर्वाचन कार्यालयहरू दैनिक व्यस्त छन्।

रुपन्देहीमा पनि पछिल्ला हप्ताहरूमा मतदाता दर्ता गराउन आउने सर्वसाधारणको भीड दिनप्रतिदिन बढ्दै गएको छ। विशेषगरी राजनीतिक माहोल तातिएसँगै दलका कार्यकर्ता, स्वतन्त्र नागरिक तथा जेन–जेड पुस्ताका युवाहरू सक्रिय रूपमा दर्ता केन्द्र पुगेका देखिन्छन्।

जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालका अनुसार असोज १० देखि कार्तिक २८ गतेसम्म रुपन्देहीमा १०,४८४ जना नयाँ मतदाता थपिएका छन्। यीमध्ये ५,९३२ पुरुष र ४,५५२ महिला रहेको उनले बताइन्। कार्तिक २८ गते मात्र ८७८ जनाले नाम दर्ता गराएका छन्—जसलाई कार्यालयले ‘असाधारण वृद्धि’ का रूपमा लिएको छ।

जिल्लामा १८ वर्ष उमेर पुगेका मतदाताको संख्या २०८२ कात्तिक १६ सम्म ६ लाख ४४ हजार ३५६ थियो। पछिल्ला दर्तासहित यो संख्या ६ लाख ५० हजारको हाराहारी पुगेको निर्वाचन कार्यालयको अनुमान छ। चुनाव मिति घोषणा भएपछि मतदाता अद्यावधिक र नयाँ नाम दर्ताको काम तीव्र भएपछि कार्यालयले शनिबार पनि सेवा खुला गर्ने निर्णय गरेको छ।

निर्वाचन आयोगले कार्तिक मसान्तमै दर्ता प्रक्रिया बन्द गर्ने योजना बनाए पनि जिल्ला कार्यालयमा भीड नघटेपछि अवधि मंसिर ५ गतेसम्म थपिएको छ। अधिकारी अर्यालका अनुसार, “नाम दर्ताको समय सकिन लाग्दा भीड थेग्नै मुस्किल भइरहेको छ। त्यसैले कार्तिक २६ गतेदेखि २ कर्मचारी थपेर अब ९ जनाले दर्ता प्रक्रिया सम्हालिरहेका छन्।”

नागरिकता प्राप्त १६ वर्ष पुगेका सबैले अनलाइन फारम भरेर नाम दर्ता गर्न सक्ने व्यवस्था छ। तर मताधिकार भने १८ वर्ष पुगेपछि मात्र प्रयोग गर्न पाइनेछ। अर्यालले अनलाइन फारम नभरी प्रत्यक्ष कार्यालय आउनेहरूको संख्या बढ्दै गएको उल्लेख गर्दै, “पहिले अनलाइन फारम भरेर आउनुस्, यसले समय बचत गर्छ,” भन्दै सबैलाई सहज प्रक्रिया अपनाउन अनुरोध गरिन्।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: