एमालेको सचिवालय बैठक भोलि
नेकपा (एमाले) ले आगामी महाधिवेशन र वर्तमान राजनीतिक परिस्थितिसम्बन्धी छलफल अघि बढाउन भोलि सचिवालय बैठक बोलाएको छ। पार्टीका अनुसार बैठक बिहीबार दिउँसो १ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ।एमालेले मंसिर २७, २८ र २९ गते हुने ११ औँ महाधिवेशनलाई लक्षित गर्दै आवश्यक व्यवस्थापन, कार्यविभाजन र प्रतिनिधि छनोट प्रक्रियाबारे सचिवालयस्तरमै समन्वय गर्न लागेको बताइएको छ।
मंसिर १३ गते देशभर एकैदिन प्रतिनिधि चयन हुने भएकाले त्यसको तयारी पनि बैठकको एजेन्डामा छ। हालै बसेको विघटित संसदीय दल बैठकले प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दा सर्वोच्च अदालतमा लैजाने तयारी गर्न निवर्तमान प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनीता बराललाई जिम्मेवारी दिएको थियो।
भोलिको सचिवालय बैठकले यस विषयमा आवश्यक थप निर्देशिका दिने सम्भावना छ। भदौ २४ गते आन्दोलनकारीले पार्टी कार्यालयमा आगजनी गर्दा क्षति पुगेपछि एमालेका उच्चस्तरीय बैठकहरू केही समय बाहिरका स्थानमा बस्दै आएका थिए। सचिवालय बैठक पनि अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित अस्थायी निवासमै बस्ने गरिएको थियो।
हाल क्षतिग्रस्त भवनको पुनर्निर्माण तीव्र गतिमा भइरहेको एमालेले जनाएको छ। नियमित प्रशासनिक तथा राजनीतिक गतिविधि फेरि कार्यालयमै सञ्चालन हुने क्रम बढ्दै गएको छ। यही सिलसिलामा बिहीबारको सचिवालय बैठक पनि पार्टी कार्यालयमै बोलाइएको हो।