विशेष वा नियमित, तर पुस २९ भित्र महाधिवेशन हुनैपर्छः विश्वप्रकाश शर्मा
काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले आगामी तीन महिनाभित्र विशेष महाधिवेशन गर्नैपर्ने संवैधानिक र वैधानिक बाध्यता रहेको बताएका छन्। उनका अनुसार असोज २९ गतेसम्ममा कुल महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशत अर्थात् २४८८ जनाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको मागसहित हस्ताक्षर बुझाइसकेका छन्। त्यसैले विधानअनुसार पुस २९ भित्र महाधिवेशन सम्पन्न गर्नु अनिवार्य हुने उनले बताएका छन्।
शर्माले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “नियमित महाधिवेशन पुसमा गर्ने कि वैशाखमा भन्ने अहिलेको मुख्य कुरा होइन। अहिले बुझ्नुपर्ने कुरा यो हो— नेपाली कांग्रेसको विधानले विशेष महाधिवेशन माग आएपछि ९० दिनभित्र सम्पन्न गर्न स्पष्ट निर्देशन दिएको छ। यो वैकल्पिक होइन, बाध्यात्मक छ।”
उनका अनुसार, माग गरिएको विशेष महाधिवेशनलाई या त सोही अवधिभित्र सम्पन्न गर्नुपर्ने हुन्छ वा त्यसकै सट्टा सोही अवधिभित्र नियमित महाधिवेशन सम्पन्न गरेर मात्र सम्बोधन गर्न सकिन्छ। “यस विषयमा कुनै ‘यदि’, ‘तर’, ‘बराबर’ होइन — स्पष्ट रूपमा निर्णय लिन जरुरी छ,” उनले लेखे।
शर्माले हाल केन्द्रीय समितिमा भइरहेको छलफललाई पार्टी एकता र राष्ट्रिय जीवन दुबैका लागि निर्णायक भनेका छन्। “केही दिनभित्रै हामीले परिपक्वता र एकताको भावनासहित निर्णयमा पुग्नुपर्नेछ,” उनले भनेका छन्। महामन्त्री शर्माले यसअघि पुस १६ देखि १९ गतेसम्म १५औं महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए।
उक्त प्रस्तावलाई महामन्त्री गगन थापाले पनि कार्यतालिका बनाएर केन्द्रीय समितिमा पेस गरिसकेका छन्। तर सभापति शेरबहादुर देउवा पक्षका केही पदाधिकारी र पूर्वपदाधिकारीहरू सहमत नहुँदा अन्तिम निर्णय हुन बाँकी छ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अब कात्तिक २५ गते बिहान ११:३० बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- आइतबार सुनको मूल्य बढ्यो, चाँदीमा सानो गिरावट
- सुशासन र पारदर्शिताको बाटोमा सरकार अडिग छः गृहमन्त्री
- रास्वपाको सौराहा बैठक दोस्रो दिन प्रवेश, हस्ताक्षर अभियानको प्रतिवेदन पेस
- हङकङ इन्टरनेशनल सिक्सेसमा नेपालको ऐतिहासिक जित — भारत ९२ रनले पराजित
- मतदाता नामावली दर्तामा देखियो व्यापक सहभागिता, आयोगले गर्यो धन्यवाद ज्ञापन