प्रकाश शाह एमालेबाट अलग भएर प्रचण्ड नेतृत्वको नेकपामा प्रवेश गर्ने तयारीमा
नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रकाश शाहले पार्टी परित्याग गर्ने तयारी गरेका छन्। लामो समयदेखि अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट देखिएका शाह बुधबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएका हुन्।
हाल ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गरिरहेका भीम रावल पनि सोही पार्टीमा समाहित हुन लागेका छन्। एमालेले रावललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि दुवै नेताले नयाँ राजनीतिक बाटो रोज्ने निर्णय गरेको स्रोतले बताएको छ। रावलको निकट रहेका शाहले एमाले नेतृत्वको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्दै आएका थिए। उनीहरू दुवै बुधबार संयुक्त रूपमा प्रवेश गर्ने तयारीमा छन्।
२०७४ सालको प्रदेशसभा निर्वाचनमा प्रकाश शाह सुदूरपश्चिम प्रदेशबाट निर्वाचित भएका थिए। त्यसपछि उनी आन्तरिक मामिला तथा आर्थिक योजना मन्त्रीको रूपमा कार्यरत रहे। एमालेभित्रको नीति र नेतृत्वप्रतिको असन्तुष्टिका कारण उनी पछिल्ला दिनमा सक्रिय रूपमा अलग धारमा देखिँदै आएका थिए।