दल दर्ताको भीडले जेन–जीको दिशा बिग्रँदैछ, मन्त्री पुनको कडा चेतावनी
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले देशभर पार्टी दर्ता गर्ने प्रवृत्ति अत्यधिक बढिरहेको भन्दै कडा असन्तुष्टि सार्वजनिक गरेका छन्। उनका अनुसार अनियन्त्रित रूपमा दल खोल्ने प्रतिस्पर्धाले अहिलेको जेन–जी आन्दोलनको मूल उद्देश्य र गति दुबै कमजोर बनाउँदै छ।
उनले सामाजिक सञ्जालमार्फत लेख्दै भने— “एकपछि अर्को पार्टी दर्ता गर्दै जाने हो भने त्यसले परिवर्तनको लक्ष्य नै भट्किने अवस्था बनाउँछ। १२३ दल दर्ता भइसकेका छन्, फेरि ३० भन्दा बढी प्रक्रिया मै छन् भन्ने सुन्दा नै विचलित हुनुपर्छ।”
मन्त्री पुनका अनुसार साना–साना असहमति र व्यक्तिगत व्येग्रताका कारण राजनीतिक दलहरू टुक्रिँदै गए भने, त्यसले देशलाई मजबुत होइन झन् अस्थिर बनाउनेछ। उनको चेतावनी स्पष्ट छ— “फुटेर होइन, मिलेर मात्र शक्ति पैदा हुन्छ। तर अहिले उल्टै एक–अर्कासँग नमिलेर दल दर्ताको भीड लगाउने गलत संस्कार मौलाउँदै छ।”
पुनले कतिपय युवाहरू र नयाँ पुस्ताले परिवर्तनको नाममा गरेका प्रयासहरू यसरी नै दिशाहीन भए पुरानै भ्रष्ट्र, अवसरवादी राजनीतिक चरित्र फेरि बलियो भएर फर्कने बताएका छन्। उनका शब्दमा— “यदि यस्तै व्यवहार चलिरह्यो भने जेन–जी आन्दोलनले अघि सारेको सुधारको बाटो मेटिन्छ। अहिलेका नयाँ मन्त्रीहरूको सकारात्मक कदमहरू पुरानै पापी र भ्रष्ट नेतृत्वले फेरि उल्ट्याउने वातावरण बन्न सक्छ।”
अन्त्यमा पुनले सबैलाई सचेत रहन आग्रह गर्दै भने—“हामी फुट्यौँ भने फाइदा त्यो पुरानो जाली–फटाहा नेतृत्वलाई मात्र हुन्छ। परिवर्तन चाहनेले व्यक्तिगत स्वार्थ भन्दा पनि सामूहिक लक्ष्यलाई पहिलो प्राथमिकता दिनुपर्छ।”