ओलीको कटाक्ष: जेनजी पनि होइन, दल पनि होइन—अहिलेको सरकारको मालिक को?

खोज समाचार
खोज समाचार
2025 November 16, Sunday
📊 यो समाचारलाई अहिलेसम्म 60 जनाले हेरेका छन्।
देशमा रहेको वर्तमान सरकारको पहिचान नै अनिश्चित रहेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले यसलाई बेवारिसे अवस्थामा चलाइएको सरकारको संज्ञा दिएका छन्। उनले संसद पुनःस्थापना बाहेक मुलुकलाई सही दिशामा लैजाने उपाय छैन भन्दै प्रेस स्वतन्त्रता समेत व्यवहारमै खुम्चिएको आरोप लगाए।
ओलीको कटाक्ष: जेनजी पनि होइन, दल पनि होइन—अहिलेको सरकारको मालिक को?

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् कि अहिले देशमा रहेको सरकारले आफ्नो पहिचान नै प्रमाणित गर्न सकेको छैन। आइतबार बिहान भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा प्रेस चौतारी नेपालका प्रतिनिधिसँग कुरा गर्दै उनले हालको सरकार “दिशाहीन र उत्तरदायहीन” बनेको टिप्पणी गरे।

ओलीले कार्की नेतृत्वको संयन्त्रलाई कसैको पनि प्रत्यक्ष स्वामित्व नभएको बताए। उनका अनुसार जेनजी आन्दोलनकर्ताले यो सरकार आफ्नो नभएको भन्छन्, राजनीतिक दलहरूले स्वीकार गर्दैनन्, संसदले नचिनेको बताउँछ र संविधानले समेत यस्तो संरचना बनाउने व्यवस्था नराखेको छ। “जब संविधान–दल–सांसद सबैले ‘हाम्रो होइन’ भन्छन्, अनि यो सरकार आखिर कसको हो?” ओलीले प्रश्न गरे।

उनले सरकारलाई ‘बेवारिसे’ भन्दै आगजनी, तोडफोड र हिंसामा संलग्न व्यक्तिहरूलाई कारबाही नगरी दण्डहीनतालाई बढावा दिएको आरोप लगाए। ओलीका अनुसार सरकारले नै विभिन्न नामका समूह खडा गरेर आफूअनुकूल मागपत्र लेखाउने र त्यही समूहमार्फत ज्ञापन बुझाउने नाटक गर्दै आएको छ।

“२४ गते भएका विनाशकारी गतिविधिका दोषी नछुनू भन्ने पत्रदेखि ‘ओलीलाई पक्राउ गर’सम्मका ड्राफ्ट सरकारले नै तयार पारेको प्रमाण हामीसँग छ,” उनले दाबी गरे। एमाले अध्यक्ष ओलीले च्यातेको संवैधानिक मार्ग दुरुस्त गर्न संसद पुनःस्थापना मात्रै विकल्प भएको बताए।

उनका अनुसार असंवैधानिक ढंगले गरिएको संसद विघटनले खतरनाक मिसाल बस्नेछ, र देशलाई विधिसम्मत मार्गमा फर्काउन तत्कालै ‘कोर्स करेक्सन’ आवश्यक छ। ओलीले देशभरका वडादेखि पालिका र जिल्लासम्म जनसहभागिता सहित भएका सभाहरूले सरकारका कदमलाई खुला रूपमा अस्वीकार गरिसकेको दाबी गरे।

अध्यक्ष ओलीले वर्तमान सरकारमाथि प्रेस स्वतन्त्रता संकुचन गरेको गम्भीर आरोपसमेत लगाए। उनका अनुसार संवैधानिक रूपमा प्रेस स्वतन्त्रता कायम भए पनि व्यवहारमा पत्रकारहरू आत्म–नियन्त्रण गर्न बाध्य छन्। “पत्रकारले अनुसन्धान गरेको कुरा खुलेर लेखेमा राज्यबाट जोखिम हुन्छ भन्ने भय छ,” ओलीले भने, “त्यसैले अहिले पत्रकारिता पञ्चायतकालकै जस्तो दडेलोमा पुगेको छ।”

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: