महामन्त्री गगन थापाको स्पष्ट सन्देश: कांग्रेस चुनावमै जान्छ, कुनै अलमल छैन

खोज समाचार
खोज समाचार
2025 November 10, Monday
📊 यो समाचारलाई अहिलेसम्म 69 जनाले हेरेका छन्।
कांग्रेस महामन्त्री गगन थापाले संसद पुनःस्थापनाको सट्टा निर्वाचनलाई नै संविधानको सही मार्ग बताउँदै पार्टीको अडान स्पष्ट पारेका छन्। उनले भने, ‘कांग्रेस चुनावमा जान्छ र यसलाई सफल बनाउँछ।’
महामन्त्री गगन थापाको स्पष्ट सन्देश: कांग्रेस चुनावमै जान्छ, कुनै अलमल छैन

नेपाली कांग्रेसभित्र केही सांसदहरूले संसद पुनःस्थापनाको पहल थालेका बेला पार्टी महामन्त्री गगन थापाले स्पष्ट सन्देश दिएका छन्—कांग्रेस अब चुनावको बाटोबाट नै अघि बढ्छ। सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै थापाले संविधानलाई सही दिशा दिन सक्ने एक मात्र उपाय निर्वाचन भएको बताएका छन्।

उनले लेखेका छन्, ‘कांग्रेसले आगामी फागुन २१ गतेको निर्वाचनमा भाग लिन्छ र यसलाई सफल बनाउँछ। यसमा कुनै अलमल छैन।’ थापाका अनुसार प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पनि कांग्रेसले निर्वाचनको पक्षमा रहेको स्पष्ट गरेको छ। उनले केन्द्रीय कार्यसम्पादन समितिको निर्णय समेत यही रहेको उल्लेख गर्दै पार्टीभित्र यस विषयमा कुनै द्विविधा नरहेको बताए।

यसअघि आइतबार पार्टीका निवर्तमान प्रमुख सचेतक श्याम घिमिरेले संसद पुनःस्थापनाका लागि हस्ताक्षर संकलन सुरु भएको बताएका थिए। उनले विघटित प्रतिनिधि सभाका सांसदहरूबाट हस्ताक्षर संकलन गरेर पार्टी केन्द्रीय समितिमा बुझाउने योजना रहेको बताएका थिए।

तर महामन्त्री थापाले भने पार्टीभित्र भइरहेको छलफल संसद पुनःस्थापनाबारे नभई आगामी अधिवेशन र तयारीबारे भएको प्रष्ट पारे। उनका अनुसार, ‘केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल निर्वाचन वा संसद पुनःस्थापनाको विषयमा होइन। यो छलफल आगामी महाधिवेशन र त्यसका व्यवस्थापनबारे हो।’

थापाले कांग्रेसलाई निर्वाचनमा सक्षम बनाउने जिम्मेवारी अधिवेशनबाट चयन हुने नयाँ नेतृत्व र नीतिले लिने बताए। उनले जोड दिए, ‘महाधिवेशनबाट आउने नीति र नेतृत्वले मात्रै कांग्रेसलाई चुनावका लागि तयार र योग्य बनाउँछ।’ उनको भनाइले कांग्रेस अब संसद पुनःस्थापनाभन्दा पनि प्रत्यक्ष जनादेशमा जाने तयारीमा रहेको स्पष्ट संकेत गरेको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: