पूर्वमन्त्री अफताब आलमको निधन
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमको ६३ वर्षको उमेरमा निधन भएको छ। उनी लामो समयदेखि काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत थिए। अस्पताल प्रशासनका अनुसार आलमको गएराति २:५९ बजे निधन भएको हो। मिर्गौला र उच्च रक्तचापसम्बन्धी समस्या बढेपछि उनलाई करिब एक महिनाअघि अस्पताल भर्ना गरिएको थियो।
पछिल्ला दिनमा उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। नख्खु कारागारबाट जेठ १४ गते छुटेपछि उनलाई मस्तिष्काघात भएको थियो र त्यसपछि अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गराइएको थियो। अवस्था जटिल बन्दै गएपछि उनलाई केएमसी अस्पतालमा सारिएको थियो।
रौतहट निवासी आलम नेपाली कांग्रेसभित्र दशकौँदेखि सक्रिय थिए। उनले विभिन्न सरकारमा श्रम, वन, स्थानीय विकास र भूमिसुधारजस्ता मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। २०५४ सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा श्रम राज्यमन्त्री बनेका उनी त्यसपछि २०५५ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद्मा वन राज्यमन्त्री, २०५६ मा कृष्णप्रसाद भट्टराई सरकारमा स्थानीय विकास राज्यमन्त्री, र पछि पुनः कोइराला सरकारमै भूमिसुधार मन्त्री बनेका थिए।
२०६४ सालको संविधानसभा निर्वाचनमा उनी रौतहटबाट कांग्रेसका उम्मेदवारका रूपमा विजयी भएका थिए। त्यसपछि बनेको माधवकुमार नेपाल नेतृत्वको सरकारमा श्रम तथा यातायात मन्त्री बनेका थिए।
तर, उनको राजनीतिक जीवन विवादविहीन रहन सकेन। २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको फरहदवामा भएको बम विस्फोट र त्यसपछिका घटनामा संलग्न भएको आरोप उनीमाथि लागेको थियो। घटनामा मृत्यु भएका र घाइतेहरूलाई इँटाभट्टामा जलाएको आरोपसमेत लगाइएको थियो, जसको कारण उनले लामो समय कानुनी प्रक्रियासँग जुध्नुपर्यो।
राजनीतिमा दृढ स्वभावका रूपमा परिचित आलमलाई समर्थकहरूले सदाबहार नेता र प्रभावशाली व्यक्तित्वका रूपमा सम्झनेछन्। उनको निधनले तराई-मधेस क्षेत्रका पुराना कांग्रेस नेताहरूको पुस्ता एउटा खम्बा गुमाएको अनुभूति गरेको छ। उनको अन्तिम यात्रा र श्रद्धाञ्जली कार्यक्रममा पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहने जनाइएको छ।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- रास्वपाको सौराहा बैठक दोस्रो दिन प्रवेश, हस्ताक्षर अभियानको प्रतिवेदन पेस
- हङकङ इन्टरनेशनल सिक्सेसमा नेपालको ऐतिहासिक जित — भारत ९२ रनले पराजित
- मतदाता नामावली दर्तामा देखियो व्यापक सहभागिता, आयोगले गर्यो धन्यवाद ज्ञापन
- शुक्रबार सुन र चाँदी दुबैको मूल्यमा वृद्धि
- मंसिर २७ देखि सुरू हुने ११औं महाधिवेशन राष्ट्रको भविष्यको मोड बन्नेछ: विष्णु पौडेल