दुर्गा प्रसाईं सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ, चार दिनको म्याद थप
काठमाडौंमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार उनको म्याद थप गर्दै चार दिनका लागि थुनामा राखेर अनुसन्धान सुरु गरेको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले प्रसाईंलाई सोमबार मध्यराति भक्तपुर, मध्यपुरठिमी–६ निकोसेरास्थित उनको निवासबाट पक्राउ गरेको थियो। प्रारम्भिक सोधपछीका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं बुझाइएपछि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २ अनुसार म्याद थपका लागि प्रशासन कार्यालय लगिएको परिसरका प्रवक्ता एसपी पवन भट्टराईले बताए। उनका अनुसार, प्रसाईंका अभिव्यक्तिले सार्वजनिक शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्ने देखिएकाले पक्राउ गरिएको हो।
केही सातादेखि प्रसाईंले विभिन्न भिडिओमार्फत सरकारविरुद्ध चर्को तथा उत्तेजित अभिव्यक्ति दिँदै आएका थिए। ७ मंसिरमा ‘नागरिक बचाउ महाअभियान नेपाल’को नाममा सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा र जेन–जी आन्दोलनसहित सुरक्षाकर्मीलाई लक्षित गर्दै दिएको टिप्पणीले प्रहरीले गम्भीर रूपमा अनुसन्धान थालेको जनाएको छ। उनकी घर खानतलासीका क्रममा प्रहरीले आन्दोलनका पर्चा समेत बरामद गरेको थियो।
यस घटनापछि उनको समर्थनमा आएका केही शुभचिन्तकलाई परिसर प्रवेशमा रोकिएको र केहीले जबर्जस्ती गर्न खोजेपछि प्रहरीले थोरै समय नियन्त्रणमा लिएर छाडेको जनाएको छ।
यसैबीच, राष्ट्रिय मानव अधिकार आयोगले मात्र अभिव्यक्तिका आधारमा गरिएको पक्राउप्रति गम्भीर आपत्ति जनाएको छ। आयोगले विज्ञप्ति जारी गर्दै विचार तथा अभिव्यक्तिको स्वतन्त्रता बिना शर्त सुनिश्चित हुनुपर्ने बताएको छ। आयोगको टोलीले प्रसाईं राखिएको हिरासत कक्षको अनुगमनसमेत गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि राति निजीनिवासमै सुतिरहेको अवस्थामा गरिएको पक्राउलाई अमानवीय, निन्दनीय र खेदजनक भनेको छ। प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियान नेपालले २४ घण्टाभित्र रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालयहरूलाई ज्ञापनपत्र बुझाएको छ। प्रसाईंविरुद्ध अनुसन्धान जारी छ।