दानबहादुर कार्की बने नेपाल प्रहरीका नयाँ आइजिपी

खोज समाचार
खोज समाचार
2025 November 11, Tuesday
📊 यो समाचारलाई अहिलेसम्म 43 जनाले हेरेका छन्।
मन्त्रिपरिषद्ले एआइजी दानबहादुर कार्कीलाई नेपाल प्रहरीको ३३ औं महानिरीक्षकमा नियुक्त गरेको छ। लामो सेवा, अनुसन्धान अनुभव र नेतृत्व क्षमताका कारण कार्की यो जिम्मेवारीसम्म पुगेका हुन्।
दानबहादुर कार्की बने नेपाल प्रहरीका नयाँ आइजिपी

नेपाल प्रहरीलाई नयाँ नेतृत्व प्राप्त भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीलाई नेपाल प्रहरीको ३३ औं महानिरीक्षक (आइजिपी) पदमा नियुक्त गरेको छ। कार्की हालसम्म काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुखका रूपमा कार्यरत थिए।

पूर्व आइजिपी चन्द्रकुबेर खापुङ अवकाशमा गएसँगै कार्कीले सर्वोच्च प्रहरी पदको जिम्मेवारी सम्हाल्ने भएका हुन्। आइजिपी बन्नका लागि कार्कीका साथै एआइजी राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह समेत दौडमा थिए। अन्ततः अनुभव, नेतृत्व क्षमता र प्रशासनिक समन्वयको आधारमा कार्की चयन भएका हुन्।

गुल्मीको मालिका गाउँपालिका, घमिरमा साउन १५, २०२९ मा जन्मेका कार्कीले प्रहरी सेवामा २०५४ चैत १८ मा प्रहरी निरीक्षकको रूपमा प्रवेश गरेका थिए। करिब तीन दशकको सेवाकालमा उनले प्रहरीका विभिन्न जिम्मेवारी सम्हालेका छन्। २०६६ मंसिरमा डिएसपीमा बढुवा भएका उनले २०७४ साउनमा एसपीको जिम्मेवारी पाएका थिए।

त्यसपछि २०७९ साउनमा उनी एसएसपी बने र काठमाडौं प्रहरी परिसरका प्रमुखका रूपमा कार्य गरे। त्यही अवधिमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र मुद्दा दर्ता भएको थियो, जसले उनको छविलाई एक सक्षम अनुसन्धान अधिकृतका रूपमा स्थापित गर्‍यो। २०७९ पछि उनले क्रमशः डिआइजी, र २०८२ वैशाखमा एआइजीको पदोन्नति पाए। प्रवक्ता र महानिरीक्षक सचिवालयमा समेत कार्की कार्यरत थिए।

कार्कीले मानविकी, शिक्षा, समाजशास्त्र र कानुनमा स्नातक गरेका छन् भने राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन्। उ संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तर्गत पूर्वी टिमोरमा दुई पटक गरी तीन वर्ष र हाइटीमा १८ महिना सेवा गरिसकेका छन्।

संयुक्त राष्ट्रसंघबाट उनले पदक र प्रशंसापत्र पाएका थिए, भने नेपाल सरकारले उनलाई ‘प्रबल जनसेवा श्री’ पदक प्रदान गरेको छ। प्रहरी सेवामा योगदानका लागि १४ पटक नगद पुरस्कार प्राप्त गरेका छन्। विवेक, अनुशासन र सेवाभावका कारण दानबहादुर कार्की नेपाल प्रहरीको नेतृत्वमा पुगेका छन्। अब उनको चुनौती संस्था भित्र सुधार, पारदर्शिता र सार्वजनिक विश्वासलाई अझ सुदृढ बनाउने हुनेछ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: