महाधिवेशन विवाद चुलिँदा कांग्रेसको केन्द्रीय बैठक पुनः स्थगित
नेपाली कांग्रेसभित्र महाधिवेशनसम्बन्धी विवाद झन् गहिरिँदै गएपछि पार्टीको केन्द्रीय कार्यसमिति बैठक पुनः स्थगित गरिएको छ। आज दिउँसो २ बजे बस्ने भनिएको बैठक सहमति जुट्न नसकेपछि मंसिर ६ गते दिउँसो १ बजे का लागि सारिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
कात्तिक २७ देखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक पटक–पटक स्थगित हुँदै आएको छ। नेताहरूले आफ्नो धारणा राखिसके पनि महाधिवेशन कहिले र कसरी गर्ने भन्ने विषयमा एकमत हुन नसकेपछि बैठक अगाडि बढ्न सकेको छैन। बैठकअघि विभिन्न समूहले छुट्टाछुट्टै छलफल गर्दै आफ्नो अडानलाई कडा रूपमा प्रस्तुत गरेका थिए। विशेष महाधिवेशन चाहने नेताहरूले पत्रकार सम्मेलनसमेत गरी पार्टीले तत्काल मिति र स्थान तोक्नुपर्ने माग दोहोर्याएका थिए।
पार्टीभित्र अहिले दुई मुख्य मत देखिएका छन्—
-
फागुन २१ को आमचुनावअघि महाधिवेशन गर्नुपर्ने
-
कि विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशनमा जाने
यस्तै विषयमा सहमति नजुटेकै कारण बैठक निष्कर्षविहीन बन्दै आएको छ। सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति जुटाउने प्रयास गरे पनि ठोस समाधान निस्किन सकेको छैन। महामन्त्री गगनथापाले अब कांग्रेसले विशेष महाधिवेशनमा नै जानुपर्ने ठहरेका छन्।
उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालाले पनि साथ दिएका छन्। कोइरालाले पुसभित्र महाधिवेशन गर्न नसकेमा केन्द्रीय कार्यसमितिबाट सर्वसम्मत निर्णय गर्दै विशेष महाधिवेशनमा जाने प्रस्ताव अघि बढाउनुपर्ने टिप्पणी गरेका छन्।
उता सभापति देउवा निकटका केही पदाधिकारीले वैशाखमा महाधिवेशन गर्ने गरी बहुमतबाट निर्णय लिनुपर्ने धारणा राखिरहेका छन्। तर देउवा र कार्यवाहक सभापति खड्का भने महाधिवेशनको विषयमा बहुमत होइन, सर्वसम्मत निर्णय हुनुपर्ने अडानमा स्थिर छन्, जसका कारण बैठक निरन्तर सारिँदै आएको छ।
असोज २८ देखि चलिरहेको बैठकमा कार्यवाहक सभापति खड्का बाहेक सबै नेताले आफ्नो विचार राखिसकेका छन्। सभापति देउवाले विभिन्न नेतासँग भेटघाट गरे पनि अहिलेसम्म महामन्त्री गगन थापासँग औपचारिक कुराकानी हुन नसकेको देखिन्छ। आन्तरिक विवाद समाधान नहुँदा पार्टी नेतृत्वले फेरि बैठक सार्न बाध्य भएको छ, जसले नेपाली कांग्रेस भित्रको राजनीतिक अस्थिरता अझ प्रष्ट भएर देखिएको छ।