अहिराज प्रकरणमा सर्वोच्च सक्रिय: थुनामै रहेका पूर्वप्रदेश प्रमुखको मिसिल झिकाउन आदेश

खोज समाचार
खोज समाचार
2025 November 14, Friday
📊 यो समाचारलाई अहिलेसम्म 143 जनाले हेरेका छन्।
मधेसका पूर्वप्रदेश प्रमुख राजेश अहिराजमाथि दर्ता भएको बलात्कार मुद्दामा सर्वोच्च अदालतले मुद्दासम्बन्धी सबै मिसिल झिकाइसकेपछि प्रकरणले नयाँ मोड लिएको छ। पुर्पक्षका लागि थुनामा राख्ने आदेश बदर गर्न अहिराजले दायर गरेको निवेदन हेर्दाहेदै अदालतले फाइल मगाउने निर्णय लिएको हो।
अहिराज प्रकरणमा सर्वोच्च सक्रिय: थुनामै रहेका पूर्वप्रदेश प्रमुखको मिसिल झिकाउन आदेश

मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) सम्बन्धी बलात्कार आरोपको मुद्दामा सर्वोच्च अदालतले फाइल मगाउने आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले मुद्दासम्बन्धी सम्पूर्ण मिसिल सर्वोच्चमै मगाउनु पर्ने निर्णय सुनाएको हो।

अहिराजले कात्तिक २३ गते सर्वोच्चमा पुनरावलोकन माग गर्दै निवेदन दर्ता गराएका थिए। उनले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश कानुनसम्मत नभएको दाबी गर्दै त्यसको बदर माग गरेका छन्। यसअघि पाटन उच्च अदालतका मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश खडानन्द तिवारीको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई यथावत् राख्दै अहिराजलाई थुनामै पठाउने निर्णय गरेको थियो।

उच्च अदालतको साउन १४ को आदेशपछि उनी पुर्पक्षका लागि थुनामा परेका हुन्। यी दुवै फैसलाविरुद्ध अहिराज सर्वोच्च पुगेका छन्। अहिराजलाई साउन ४ गते प्रहरीले पक्राउ गरेको थियो। काठमाडौं जिल्ला प्रहरी परिसरमा गत वर्ष माघ ३ गते दर्ता भएको उजुरीका आधारमा अनुसन्धान अगाडि बढाइएको थियो।

उजुरी दर्ता हुँदा तत्काल पक्राउ अनुमति नलिए पनि चैत २५ गते जिल्ला अदालतबाट अनुमति प्राप्त भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। २०८१ जेठ ४ गते एक महिलामाथि उनले कोठामा एक्लै पारेर बारम्बार बलात्कार गरेको आरोप छ। घटना सार्वजनिक गरे ज्यान मार्ने धम्कीसमेत दिएको पिडित पक्षको दाबी छ। अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुखका रूपमा नियुक्त भएका थिए।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: