ओलीको सरकारलाई चेतावनी: दुर्गा प्रसाईंलाई तत्काल रिहा गर

खोज समाचार
खोज समाचार
2025 November 19, Wednesday
📊 यो समाचारलाई अहिलेसम्म 59 जनाले हेरेका छन्।
दुर्गा प्रसाईँको अभिव्यक्तिलाई आधार बनाएर सरकारले गरेको पक्राउप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले कडा आपत्ति जनाएका छन्। काठमाडौंमा जनप्रतिनिधिहरूको भेलामा बोल्दै उनले प्रसाईँको तत्काल रिहाइ गर्न सरकारलाई आग्रह गर्दै यस्तो कदम लोकतान्त्रिक मूल्य–मान्यताको उल्लङ्घन भएको बताए।
ओलीको सरकारलाई चेतावनी: दुर्गा प्रसाईंलाई तत्काल रिहा गर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीद्वारा गरिएको पक्राउको तीव्र आलोचना गर्दै सरकारलाई उनको तत्काल रिहाइको माग गरेका छन्। बुधबार काठमाडौंमा स्थानीय तहका जनप्रतिनिधिहरूको भेलामा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले सरकारले असहिष्णुता देखाएको आरोप लगाए।

उनका अनुसार प्रसाईँले पछिल्ला दिनमा आफ्नाविरुद्ध अभिव्यक्ति दिएको निहुँमा सरकारले उनलाई नियन्त्रणमा लिएको हो, जुन लोकतान्त्रिक अभ्यासको मर्यादासँग मेल खाँदैन। ओलीले प्रश्न गरे, “एक नागरिकले विचार राख्यो भनेर जेल हाल्ने हो? बोल्न नपाउने अवस्था के लोकतन्त्रमा स्वीकार्य छ?” भन्दै उनले सरकारी कदम प्रति असन्तोष व्यक्त गरे।

मानव अधिकार आयोगले पनि अभिव्यक्तिका आधारमा कसैलाई बन्दी बनाउन नमिल्ने स्पष्ट भनिसकेको स्मरण गराउँदै ओलीले सरकारले नैतिकता र कानुनी प्रक्रिया दुबै बेवास्ता गरेको टिप्पणी गरे। उनका अनुसार प्रसाईँले दिउँसो रिलिज गरेको भिडियोपछि साँझतिरै पक्राउ गरिएको घटना स्वेच्छाचारिताको संकेत हो। “भिडियो हालेको केही घण्टामै कसरी पक्राउ गरिन्छ? प्रधानमन्त्री र गृहमन्त्रीसँग प्रसाईँले उठाएका प्रश्नको कुनै जवाफ छ कि छैन?” ओलीले भने।

ओलीले सरकारमाथि भावनामा बगेर निर्णय गरेको आरोप पनि लगाए। “कसलाई मन पर्छ, कसलाई मन पर्दैन भन्ने आधारमा पक्राउ–अपहरण गर्ने हो र? भएको भिडियो सार्वजनिक गर्नु अपराध कसरी भयो? यदि पक्राउ गर्नै परेको थियो भने बिहानै किन नगरेको? रातारात तमासा किन मन्चन गरियो?” उनले प्रश्न गरे।

उनका अनुसार सरकारको पछिल्लो व्यवहारले कानूनका आधारमा होइन, आक्रोश र असहिष्णुताका आधारमा काम भइरहेको देखिन्छ, जसले लोकतान्त्रिक मान्यतामा चोट पुर्‍याउँछ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: