इमेलमार्फत् पत्र पठाउँदै एमालेले फिर्ता गर्‍यो मधेस सरकारलाई दिएको समर्थन

खोज समाचार
खोज समाचार
2025 October 8, Wednesday
📊 यो समाचारलाई अहिलेसम्म 250 जनाले हेरेका छन्।
एमालेले बुधबार मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सत्ताको समीकरण फेरिएको छ। यसअघि कांग्रेस र जनमत पार्टीले पनि समर्थन फिर्ता लिएका थिए, जसले प्रदेशमा सरकार परिवर्तनको सम्भावना बढाएको छ।
इमेलमार्फत् पत्र पठाउँदै एमालेले फिर्ता गर्‍यो मधेस सरकारलाई दिएको समर्थन

मधेस प्रदेशको राजनीतिक समीकरण फेरि अस्थिर बन्दै गएको छ। नेकपा (एमाले) ले बुधबार मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारप्रति दिएको समर्थन फिर्ता लिँदै प्रदेशको सत्ताको गणित बदलिएको छ। एमाले मधेस प्रदेश संसदीय दलको कार्यालयबाट प्रदेश प्रमुखलाई इमेलमार्फत् पठाइएको पत्रमा दलका नेता सरोजकुमार यादवको हस्ताक्षर रहेको बताइएको छ।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवका अनुसार सो पत्र आजकै मितिमा प्राप्त भएको हो। “आज इमेलमार्फत् समर्थन फिर्ताको पत्र आएको छ, जसमा संसदीय दलका नेता सरोजकुमार यादवको हस्ताक्षर छ,” यादवले पुष्टि गरे। उनले दललाई पत्रको हार्डकपी पनि पठाउन अनुरोध गरिएको जानकारी दिए।

यसअघि नै नेपाली कांग्रेस र जनमत पार्टीले समेत सिंहको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन्। जनमत पार्टीले आफ्नै नेतृत्वमा बनेको सरकारलाई साथ फिर्ता लिँदै मुख्यमन्त्री र मन्त्रीहरूलाई पनि फर्किने निर्देशन दिएको थियो। तर मुख्यमन्त्री सिंहले भने तत्काल राजीनामा नदिने र संसदमा नै बहुमतको सामना गर्ने बताएका छन्।

हाल प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूबीच छलफल तीव्र बनेको छ। गत वर्ष एमाले, कांग्रेस, जनमतलगायत दलको समर्थनमा सिंह मुख्यमन्त्री बनेका थिए। तर पछिल्ला राजनीतिक निर्णयहरूले उनको नेतृत्व अब अनिश्चित बन्न पुगेको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: