एमाले फर्कनेलाई योगेश भट्टराईको सुझाव
काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टीमा फर्किन तयारी गरिरहेका नेताहरूसँग आत्मसमीक्षा र विवेकपूर्ण निर्णयको आग्रह गरेका छन्। उनले भने — “एमाले फर्कनु कुनै नेतालाई जिताउन वा हाराउनका लागि होइन, पार्टी र राष्ट्रलाई बलियो बनाउनका लागि हो।”
रामकुमारी झाक्रीसहितका नेताहरू एकीकृत समाजवादी परित्याग गरी एमाले फर्कन तयारीमा रहेका बेला भट्टराईको यो भनाइ आएको हो। यसअघि महासचिव शंकर पोखरेलले पार्टीमा फर्किनेहरूले एमालेको नीति र नेतृत्व स्वीकार गर्नुपर्ने बताएका थिए।प्रत्यक्ष रूपमा नाम नलिए पनि भट्टराईले भने, “नीति र नेतृत्व स्वीकार गर्नु स्वाभाविक कुरा हो। त्यसलाई अस्वीकार गरेर सहकार्य कसरी सम्भव हुन्छ? जबज हाम्रो सिद्धान्त हो, हाम्रो साझा अभ्यास हो, यसलाई अझ परिष्कृत र बलियो बनाउने जिम्मेवारी हाम्रै हो।”
भट्टराईले एमालेको ११ औं महाधिवेशन नजिकिँदै गर्दा नीति र नेतृत्वबारे छलफल हुनु स्वाभाविक भएको बताए। उनले भने, “महाधिवेशनअघि नीति र नेतृत्वमा बहस गर्ने परम्परा पाँचौं महाधिवेशनबाटै सुरु भएको हो। यही अभ्यासले हाम्रो पार्टी जीवनलाई लोकतान्त्रिक बनाएको छ।” उनका अनुसार, पार्टीभित्र विचार र नेतृत्वमाथि हुने बहसले संगठनलाई अझ परिपक्व बनाउने काम गर्छ।
भट्टराईले एमालेमा फर्किनेहरूले कुनै व्यक्तिगत स्वार्थ वा नेताको पक्षमा होइन, राष्ट्रिय हितका दृष्टिकोणबाट निर्णय लिनुपर्ने बताए। “कुन नेताले जित्छ वा हार्छ भन्ने कुरा गौण हो,” उनले भने, “हाम्रो उद्देश्य नेपालले जितोस्, नेपाली जनताले जितून् र एमालेले जितोस्। त्यसका लागि हामी सयौं पटक हार्न पनि तयार छौं।” उनको यो अभिव्यक्ति एमालेभित्र पुनःएकता र सहकार्यको वातावरण बनाउने प्रयासका रूपमा व्याख्या गरिएको छ।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- श्याम घिमिरे भन्छन्– निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन गर्दैछौं, चाँडै पार्टीमा बुझाउँछौं
- ओलीको घोषणा: म बोल्छु, अनि महाधिवेशन त्यत्तिमै सकिन्छ
- आइतबार सुनको मूल्य बढ्यो, चाँदीमा सानो गिरावट
- विशेष वा नियमित, तर पुस २९ भित्र महाधिवेशन हुनैपर्छः विश्वप्रकाश शर्मा
- सुशासन र पारदर्शिताको बाटोमा सरकार अडिग छः गृहमन्त्री