सर्वोच्च र जिल्ला अदालतमा तोडफोड–आगजनी प्रकरणमा प्रहरीले सुरु गर्यो अनुसन्धान
काठमाडौं । सर्वोच्च अदालत र जिल्ला अदालत काठमाडौंमा जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी प्रकरणमा प्रहरीले औपचारिक रूपमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ । दुवै अदालतले गत कात्तिक १३ गते जाहेरी दिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सुरु गरेको हो ।
जाहेरीमा घटनामा संलग्न व्यक्तिहरूको नाम उल्लेख नभए पनि, अदालतका भौतिक सम्पत्तिमा भएको क्षतिको विस्तृत विवरण समावेश गरिएको छ । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा सर्वोच्च र जिल्ला अदालतमा आगजनी गरिएको थियो । उनले भने, “घटनाको जाहेरी परेपछि अनुसन्धान सुरु भइसकेको छ । अहिले सिसिटिभी फुटेज, भिडियो, फोटो र नागरिकबाट प्राप्त सामग्रीको विश्लेषण भइरहेको छ । घटनामा संलग्नहरू पहिचान हुँदै छन् ।”
प्रहरीका अनुसार तोडफोड र आगजनीमा प्रत्यक्ष संलग्न अभियुक्तहरूको लोकेसन पत्ता लगाउने र पक्राउ गर्ने तयारी तीव्र रूपमा भइरहेको छ । सर्वोच्च अदालतको जाहेरीअनुसार आगजनीबाट मात्रै एक अर्ब २१ करोड २१ लाख ९१ हजार रुपैयाँ बराबरको भौतिक सम्पत्ति नष्ट भएको छ । जसमा ५० करोड मूल्यको भवन, ४० करोड १९ लाख बराबरका सवारीसाधन, ३० करोड नजिकका जिन्सी सामग्री जलेर नष्ट भएका छन् ।
त्यस्तै, काठमाडौं जिल्ला अदालतमा ५५ करोड ५० लाख २५ हजार बराबरको सम्पत्ति नष्ट भएको छ । जसमा ५२ करोड २७ लाख मूल्यको भवन, २३ लाख मूल्यका सवारीसाधन र तीन करोड बराबरका फर्निचर रहेका छन् ।
देशभरका २३ अदालतमा तोडफोड र आगजनी हुँदा करिब दुई अर्ब ८० करोड ७८ लाख रुपैयाँभन्दा बढी मूल्यबराबरको क्षति भएको सर्वोच्चले जनाएको छ । जसमा भवन, सवारीसाधन, फर्निचर र अभिलेखहरू पूर्ण रूपमा जलेका छन् । प्रहरीले घटनामा संलग्नहरूलाई छिट्टै पक्राउ गरी कानुनी कारबाही अघि बढाउने जनाएको छ ।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- श्याम घिमिरे भन्छन्– निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन गर्दैछौं, चाँडै पार्टीमा बुझाउँछौं
- ओलीको घोषणा: म बोल्छु, अनि महाधिवेशन त्यत्तिमै सकिन्छ
- आइतबार सुनको मूल्य बढ्यो, चाँदीमा सानो गिरावट
- विशेष वा नियमित, तर पुस २९ भित्र महाधिवेशन हुनैपर्छः विश्वप्रकाश शर्मा
- सुशासन र पारदर्शिताको बाटोमा सरकार अडिग छः गृहमन्त्री