सन्दीपको पाँच विकेटमा नेपालको रोमाञ्चक जित, विश्वकप नजिक

Hemraj Joshi
Hemraj Joshi
2025 October 14, Tuesday
📊 यो समाचारलाई अहिलेसम्म 211 जनाले हेरेका छन्।
ओमान, असोज २८ – आइसिसी पुरुष टी–२० विश्वकप एसियन छनोट अन्तर्गत सुपर सिक्स चरणमा नेपालले सोमबार कतारमाथि रोमाञ्चक पाँच रनको जित निकालेको छ । लेगस्पिनर सन्दीप लामिछानेको घातक बलिङमा प्रेरित नेपालले विश्वकपको ढोका थप ठूलो पारेको हो ।
सन्दीपको पाँच विकेटमा नेपालको रोमाञ्चक जित, विश्वकप नजिक

ओमान, असोज २८ – आइसिसी पुरुष टी–२० विश्वकप एसियन छनोट अन्तर्गत सुपर सिक्स चरणमा नेपालले सोमबार कतारमाथि रोमाञ्चक पाँच रनको जित निकालेको छ । लेगस्पिनर सन्दीप लामिछानेको घातक बलिङमा प्रेरित नेपालले विश्वकपको ढोका थप ठूलो पारेको हो ।

पहिलो ब्याटिङका लागि आमन्त्रित नेपालले २० ओभरमा नौ विकेट गुमाउँदै १४७ रनको मध्यम योगफल बनायो । कप्तान रोहित पौडेलले ४१ बलमा सात चौका र एक छक्कासहित ५८ रनको योगदान दिए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो आठौँ अर्धशतक हो । उपकप्तान दीपेन्द्रसिंह ऐरीले २२ बलमा २६ रन जोडे भने अन्य ब्याट्सम्यानले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् ।

जवाफी ब्याटिङमा १४८ रनको लक्ष्य पछ्याउने क्रममा कतारका ओपनर लियानागे र जुबेर अलीले पहिलो विकेटका लागि १० ओभरमा ७९ रनको बलियो साझेदारी गरे । लियानागेले ३५ बलमा पाँच चौका र तीन छक्कासहित ५६ रन बनाए भने अलीले ५५ बलमा ५२ रन जोडे ।

तर इनिङ्सको १०औँ ओभरमा सन्दीपले लियानागेलाई बोल्ड आउट गर्दै नेपाललाई खेलमा फर्काए । त्यसपछि १३औँ ओभरमा दुई ब्याट्सम्यान लगातार रनआउट भएपछि नेपालले खेलमा पकड जमायो । बलियो स्थितिमा रहेको कतारले अन्तिम आठ विकेट मात्र ४५ रनमा गुमायो ।

अन्तिम ओभरमा कतारलाई जितका लागि १० रन आवश्यक थियो । बलिङ गर्न आएका सन्दीपले पहिलो दुई बल डट फ्याँकेपछि १९.३ ओभरमा विकेट लिए । अन्तिम बलमा छक्का आवश्यक परेको अवस्थामा मुजिब उर रहमान शेखबाट स्टम्पिङ हुँदा नेपालले ५ रनले जित सुनिश्चित गर्‍यो ।

सन्दीपले ३.५ ओभरमा १८ रन खर्चेर पाँच विकेट लिए । योसँगै उनले अन्तर्राष्ट्रिय क्रिकेटमा २५० विकेट पूरा गरेका छन्। उनले यसअघि पपुवा न्युगिनीविरुद्ध पहिलोपटक पाँच विकेट लिएका थिए ।

यो जितसँगै नेपालले सुपर सिक्समा ६ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको ओमानको पनि ६ अंक छ, तर रनरेटमा अघि छ । अब नेपालले बुधबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ । ओमानलाई हराए नेपालले लगातार दोस्रो र समग्रमा तेस्रोपटक विश्वकपमा स्थान बनाउनेछ ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: