प्रचण्डको चेतावनी: राष्ट्र प्रतिक्रान्तिको डिलमा, वाम एकता अपरिहार्य
काठमाडौं — नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश पुनः प्रतिक्रान्तिको चक्रमा प्रवेश गर्ने खतरा देखिएको बताएका छन्। शनिबार पेरिसडाँडामा आयोजित एक कार्यक्रममा उनले अहिलेको राजनीतिक परिस्थिति गणतन्त्र, स्वाधीनता र समाजवादी यात्रामाथिको ठूलो चुनौतीको रूपमा रहेको बताए।
‘देशमा साम्राज्यवाद र समाजवादी आन्दोलनबीच प्रत्यक्ष टकराव सुरु भइसकेको छ,’ प्रचण्डले भने, ‘यो अवस्था सामान्य होइन—यो नयाँ प्रकारको राजनीतिक मोड हो, जसमा जनताको एकता र जागरण नै निर्णायक हुनेछ।’ उनका अनुसार देशमा लामो समयदेखि संचित जनआक्रोश र असन्तुष्टि अब नयाँ राजनीतिक दिशामा रुपान्तरण हुँदैछ।
‘क्रान्ति अब टाढा छैन, जनताको असन्तुष्टि सही रूपमा संगठित गर्न सके समाजवादी परिवर्तन धेरै टाढाको कुरा हुने छैन,’ उनले स्पष्ट पारे। प्रचण्डले अघिल्ला जनयुद्ध र आन्दोलनका अनुभव स्मरण गर्दै भने, ‘त्यो बेला पनि हामीले भन्यौं—गणतन्त्र आउनेछ, तर त्यो जनताको पक्षमा रहने कि प्रतिक्रियावादीहरूको हातमा पर्ने भन्ने कुरा पछि हुने टकरावले तय गर्नेछ।’
उनका अनुसार अहिले मुलुक फेरि त्यही निर्णायक चरणमा पुगेको छ, जहाँ क्रान्ति र प्रतिक्रान्ति आमनेसामने छन्। संयोजक प्रचण्डले सबै देशभक्त, वामपन्थी र क्रान्तिकारी शक्तिहरूबीच वृहद् एकताको आह्वान गरे। ‘संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने क्रममा हामीले विभिन्न वर्ग र शक्तिसँग अस्थायी सम्झौता गरेका थियौं। अहिले चाहिँ समाजवादी क्रान्तिको दिशामा एकीकृत राजनीतिक धार आवश्यक छ,’ उनले भने।
उनका अनुसार अहिलेको परिस्थितिले राष्ट्रको स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि नै प्रश्न उठाएको छ। ‘अब प्रश्न छ — समाजवादी क्रान्तिले साम्राज्यवादलाई रोक्ने हो कि साम्राज्यवादले नै हाम्रो स्वाधीनता निल्ने हो?’ उनले प्रश्न गरे। प्रचण्डले पछिल्ला दिनमा सडकमा देखिएको युवा आन्दोलनको प्रशंसा पनि गरे।
‘भ्रष्टाचार र अन्यायविरुद्ध उठेका युवाहरूले देशको राजनीतिक चेत पुनः जगाइरहेका छन्,’ उनले भने, ‘यही पुस्ता अबको परिवर्तनको मुख्य शक्ति बन्नेछ।’ उनका अनुसार प्रत्यक्ष निर्वाचित प्रणाली, पारदर्शिता र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा युवाले उठाएका मुद्दा भविष्यको क्रान्तिकारी सोचको विस्तार हुन्।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- श्याम घिमिरे भन्छन्– निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन गर्दैछौं, चाँडै पार्टीमा बुझाउँछौं
- ओलीको घोषणा: म बोल्छु, अनि महाधिवेशन त्यत्तिमै सकिन्छ
- आइतबार सुनको मूल्य बढ्यो, चाँदीमा सानो गिरावट
- विशेष वा नियमित, तर पुस २९ भित्र महाधिवेशन हुनैपर्छः विश्वप्रकाश शर्मा
- सुशासन र पारदर्शिताको बाटोमा सरकार अडिग छः गृहमन्त्री