भारतद्वारा पाकिस्तानी विमानमाथि आकाशमार्ग प्रतिबन्ध

खोज समाचार
खोज समाचार
2025 May 1, Thursday
📊 यो समाचारलाई अहिलेसम्म 299 जनाले हेरेका छन्।
भारतले आफ्नो आकाशमार्ग पाकिस्तानी जहाजहरूका लागि बन्द गरेको छ। बुधबार भारतीय विमानस्थल प्राधिकरणले सूचना जारी गर्दै पाकिस्तानी जहाजलाई भारतीय हवाई क्षेत्रमा उडान गर्न प्रतिबन्ध लगाइएको जानकारी दिएको हो। द हिन्दुस्तान टाइम्स  पत्रिकाका अनुसार यो निर्णय बिहीबार (वैशाख १९)
भारतद्वारा पाकिस्तानी विमानमाथि आकाशमार्ग प्रतिबन्ध

भारतले आफ्नो आकाशमार्ग पाकिस्तानी जहाजहरूका लागि बन्द गरेको छ। बुधबार भारतीय विमानस्थल प्राधिकरणले सूचना जारी गर्दै पाकिस्तानी जहाजलाई भारतीय हवाई क्षेत्रमा उडान गर्न प्रतिबन्ध लगाइएको जानकारी दिएको हो। द हिन्दुस्तान टाइम्स  पत्रिकाका अनुसार यो निर्णय बिहीबार (वैशाख १९) मध्यान्ह १२ बजेदेखि लागू हुनेछ र कम्तिमा मे २३ सम्म कायम रहने बताइएको छ।

प्रतिबन्ध अवधिमा पाकिस्तानमा दर्ता भएका, भाडामा सञ्चालन भइरहेका, र पाकिस्तानी सैन्य जहाजहरू भारतको आकाश प्रयोग गर्न पाउने छैनन्। भारतले यो कदम केही दिनअघि पहलगाममा भएको आक्रमणपछि पाकिस्तानसँग बढ्दो तनावको प्रतिक्रिया स्वरूप चालेको हो। एक साता अघिमात्र पाकिस्तानले पनि आफ्नो आकाश भारतीय जहाजका लागि बन्द गर्ने निर्णय गरेको थियो।

भारतको पछिल्लो निर्णय त्यसको जवाफी कदमका रूपमा आएको देखिन्छ। यद्यपि, यसले पाकिस्तानभन्दा भारतलाई ठूलो असर पर्ने बताइएको छ, किनभने भारत–पाकिस्तानबीच सिधा हवाई उडान छैन। द हिन्दुस्तान टाइम्स अनुसार पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (PIA) ले सिंगापुर, मलेसिया तथा अन्य पूर्वी एसियाली मुलुकहरूमा उडान गर्दा भारतीय आकाश प्रयोग गर्दै आएको थियो। अब यी गन्तव्यहरूमा पुग्न चीन वा श्रीलङ्कामार्ग हुँदै जानुपर्ने भएको छ, जसले दूरी, इन्धन खर्च र समय वृद्धि गराउनेछ।

यता, पाकिस्तानको प्रतिबन्धले भारतका प्रमुख एयरलाइन्स एयर इन्डिया र इन्डिगोलाई प्रत्यक्ष असर पारेको छ। यी कम्पनीहरूले नयाँ दिल्लीबाट युरोप, मध्यपूर्व र अमेरिका जाने क्रममा पाकिस्तानको आकाश प्रयोग गर्ने गरेका थिए। अब ती गन्तव्यमा पुग्न लामो मार्ग अपनाउनु पर्ने भएकाले इन्धन लागत बढ्ने, कार्गो ढुवानी घट्ने, र चालक दलको कार्यतालिकामा परिवर्तन आवश्यक पर्ने भारतीय अधिकारीहरूले बताएका छन्।

इन्धन खर्च मात्रै एयरलाइन्सको कुल खर्चको करिब ३० प्रतिशत हिस्सा ओगट्ने भएकाले यो प्रतिबन्ध अर्थतन्त्रमा प्रभाव पार्ने आँकलन गरिएको छ। हाल पाकिस्तानले अन्य देशबाट भारत आउने र भारतबाट अन्य देश जाने जहाजहरूलाई प्रतिबन्ध लगाएको छैन। तर भारतीय जहाजहरूको हकमा भने कम्तिमा मे २३ सम्म प्रतिबन्ध यथावत रहनेछ।

यसअघि सन् २०१९ मा पनि पाकिस्तानले भारतीय जहाजलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न नदिएको थियो। त्यतिबेला भारतलाई झन्डै ६४ मिलियन डलरको घाटा भएको थियो भन्ने रोयटर्सको समाचार उल्लेखनीय छ। भारत र पाकिस्तानबीचको पछिल्लो तनाव सैन्य झडपमा समेत परिणत भएको छ। जम्मू–कश्मीरको नियन्त्रण रेखा (LOC) मा दुवै देशका सेनाबीच गोलीबारी भइरहेको भारतीय मिडियाहरूले जनाएका छन्।

भारतीय सेनाले पाकिस्तानले LOC क्षेत्रमा फायरिङ गरेपछि जवाफ दिइएको जनाएको छ। बुधबार रातिसमेत गोलीबारी भएको र हालसम्म हताहतीबारे विवरण सार्वजनिक नभएको टाइम्स अफ इन्डियाले लेखेको छ। भारतले जम्मू–कश्मीरमा मंगलबार भएको आक्रमणमा पाकिस्तानको संलग्नता रहेको दाबी गर्दै आएको छ। उक्त आक्रमणमा नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो।

द रेसिस्टेन्ट फ्रन्ट (TRF) नामक समूहले आक्रमणको जिम्मेवारी लिएको छ, जसलाई पाकिस्तानको सेना तथा गुप्तचर संस्थाको समर्थन रहेको आरोप भारतको छ। संयुक्त राष्ट्रसंघले भारत र पाकिस्तान दुबैलाई संयम अपनाउन र वार्ताबाट समस्याको समाधान खोज्न आग्रह गरेको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: