न्यायाधीश भट्टको इजलासमा पत्रकार पाठकको बयान र थुनछेक बहस आजै

खोज समाचार
खोज समाचार
2025 July 3, Thursday
📊 यो समाचारलाई अहिलेसम्म 631 जनाले हेरेका छन्।
काठमाडौं जिल्ला अदालतमा बिहीबार बिहान पत्रकार दिलभूषण पाठक हाजिर भएका छन्। अदालतका अधिकारीहरूका अनुसार, न्यायाधीश खेमराज भट्टको इजलासमा आजै उनको प्रारम्भिक बयान लिने काम हुनेछ भने त्यसपछि थुनछेक सम्बन्धी बहस सुरु हुने तय भएको छ।  पाठकविरुद्ध साइबर अपराधको आरोपमा
न्यायाधीश भट्टको इजलासमा पत्रकार पाठकको बयान र थुनछेक बहस आजै

काठमाडौं जिल्ला अदालतमा बिहीबार बिहान पत्रकार दिलभूषण पाठक हाजिर भएका छन्। अदालतका अधिकारीहरूका अनुसार, न्यायाधीश खेमराज भट्टको इजलासमा आजै उनको प्रारम्भिक बयान लिने काम हुनेछ भने त्यसपछि थुनछेक सम्बन्धी बहस सुरु हुने तय भएको छ।  पाठकविरुद्ध साइबर अपराधको आरोपमा मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले गत सोमबार यो मुद्दा दर्ता गरेको हो।

यसअघि नेपाल प्रहरीको साइबर ब्युरोले असार १३ गते अनुसन्धान प्रतिवेदन बुझाएको थियो। खास कुरा के भने, पाठकलाई पक्राउ नगरीकनै मुद्दा अघि बढाइएको हो। प्रहरी अनुसन्धान अनुसार, ‘टफ टक विथ् दिलभूषण पाठक’ नामक युट्युब कार्यक्रममार्फत उनले हिलटन होटल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवासम्बन्धी रिपोर्ट सार्वजनिक गरेका थिए।

सोही भिडियो विषयमा उजुरी परेपछि ब्युरोले उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा जेठ २८ गते पक्राउ पुर्जी जारी गरेको थियो। तर, असार ५ गते उच्च अदालत पाटनले पत्रकार पाठकलाई पक्राउ नगर्न स्पष्ट निर्देशन दिएको थियो। यसअघि असार २ गते पनि सोही अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै पक्राउमा रोक लगाएको थियो।

अदालतको धारणा अनुसार, पत्रकारले सम्प्रेषण गरेका सामग्रीमाथि प्रेस काउन्सिलमार्फत उजुरी दिन सकिने व्यवस्थाले गर्दा यस्तो मुद्दा विद्युतीय अपराधको दायरामा पर्न जरुरी छैन। यद्यपि पाठकमाथि कसले उजुरी दिएको हो भन्ने औपचारिक रूपमा खुलाइएको छैन। अभियोग पत्रमा उजुरीकर्ताको नाम गोप्य राखिएको छ र परिवर्तित नाम प्रयोग गरिएको छ।

आजको बयान र थुनछेक बहसपछि अदालतले निर्णय गर्नेछ— पाठकलाई हिरासतमा राखेर अगाडि बढाउने कि रिहा गरेर मुद्दाको प्रक्रिया अघि बढाउने। यो मामिलाले पत्रकारिता, कानुनी प्रक्रिया र अभिव्यक्ति स्वतन्त्रताबीचको सम्बन्धमाथि पुनः गम्भीर बहस जन्माएको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: