मन्त्री महावीर पुनको निर्देशन : विद्यालय पाठ्यक्रम अब समयसापेक्ष र व्यवहारिक बन्छ

खोज समाचार
खोज समाचार
2025 October 9, Thursday
📊 यो समाचारलाई अहिलेसम्म 221 जनाले हेरेका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय शिक्षालाई समयानुकूल र व्यवहारिक बनाउन पाठ्यक्रम परिमार्जनको तयारी थालेका छन्। उनले मातृभाषामा पाठ्यपुस्तक विकास, नैतिक र व्यावहारिक शिक्षालाई प्राथमिकता दिने र कक्षा ९ र १० मा कम्प्युटर विषयलाई १०० अंकको अनिवार्य विषयका रूपमा लागू गर्ने निर्देशन दिएका छन्। साथै, उनले नास्ट र शिक्षा स्रोत विकास केन्द्रको अवलोकन गर्दै अनुसन्धान, नवप्रवर्तन र डिजिटल सिकाइ सामग्री निर्माणमा जोड दिएका छन्।
मन्त्री महावीर पुनको निर्देशन : विद्यालय पाठ्यक्रम अब समयसापेक्ष र व्यवहारिक बन्छ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय शिक्षालाई आधुनिक, उपयोगी र समयानुकूल बनाउन ठोस कदम चाल्न थालेका छन्। बुधबार उनले पाठ्यक्रम विकास केन्द्र पुगेर अधिकारीहरूसँग लामो छलफल गर्दै अबको पाठ्यक्रमले विद्यार्थीको वास्तविक जीवनमा प्रयोग हुने सीप, सोच र मूल्यमा केन्द्रित हुनुपर्ने बताए।

मन्त्री पुनका अनुसार, केवल किताबका पानामा सीमित ज्ञान पर्याप्त छैन। उनले भने, “शिक्षाले चरित्र निर्माण र सोच परिवर्तन गर्नुपर्छ, त्यसका लागि नैतिक र व्यावहारिक शिक्षा अनिवार्य हुनुपर्छ।” उनले मातृभाषामा पाठ्यपुस्तक विकास गर्न सरकार पूर्णरूपमा सहयोगी रहने बताए। साथै इतिहास र संविधानजस्ता विषयलाई पनि विद्यार्थीले गहिराइमा बुझ्नेगरी पढाउनुपर्ने धारणा राखे।

त्यसै अवसरमा उनले घोषणा गरे कि आगामी शैक्षिक वर्षदेखि कक्षा ९ र १० मा कम्प्युटर विषयलाई १०० अंकको अनिवार्य विषयका रूपमा लागू गरिनेछ। यसका लागि आवश्यक तयारी तुरुन्त सुरु गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिइएको छ। शिक्षा मन्त्रालयको कार्यक्रममा सहभागी भएपछि मन्त्री पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) पनि अवलोकन गरे।

उनले प्रतिष्ठानका प्रयोगशालाहरू निरीक्षण गर्दै उपलब्ध पूर्वाधार अनुसार उच्चस्तरीय अनुसन्धान र नवप्रवर्तनमा जोड दिन आग्रह गरे। उनले भनें, “नास्टका भवन र ल्याब उत्कृष्ट छन्, अब तिनको प्रयोग पनि त्यस्तै उत्कृष्ट हुनुपर्छ।” त्यसपछि मन्त्री पुनले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पनि छलफल गरे।

करिब तीन घण्टा लामो कुराकानीमा उनले देशभरका विद्यालयहरूको दरबन्दी पुनर्मिलान, विद्यार्थी संख्या अत्यन्त कम भएका विद्यालयहरू एकीकृत गर्ने नीति, योग्य प्रधानाध्यापक नियुक्तिका लागि एकरूप कार्यविधि तयार पार्ने र डिजिटल सिकाइ सामग्री निर्माणमा प्राथमिकता दिने विषयमा निर्देशन दिए।

उनको भनाइमा, “हाम्रो शिक्षाको भविष्य अब प्रविधिसँग जोडिएको छ। यदि हामीले अहिले परिवर्तन सुरु गर्‍यौं भने, केही वर्षमै नेपालको शिक्षा प्रणाली नयाँ दिशातर्फ अघि बढ्नेछ।”

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: