मात्र पाँच महिनामा गुगलको नलेज ग्राफमा पुग्ने पहिलो नेपाली निशुल्क साइट बन्यो — विकिएनपी

विकिएनपी र गुगलको प्रतीकात्मक चित्र
आजभोलि जब प्रयोगकर्ताहरूले गुगलमा नेपालको दुर्गम स्थानहरूको बारेमा खोजी गर्छन्, उनीहरूले त्यहाँ केही अनौठो कुरा भेटाउन थालेका छन्। कुनै पनि स्थानको बारेमा खोजी गर्दा गुगलले उक्त स्थानबारे प्रयोगकर्तालाई देखाउने जानकारीको डेटा विभिन्न विश्वसनीय स्रोतहरूबाट लिने गर्दछ।
अझ खासगरी गुगलले नलेज प्यानल देखाउँदा केही नाम चलेका विश्वव्यापी साइटहरूबाट मात्र देखाउने गर्छ, जसमा गुगलले सबैभन्दा बढी विश्वास गर्ने वेबसाइट विकिपिडिया हो। तर जब मानिसहरूले गुगलमा गएर रुन्चेत गाउँ (Runchet Village) भनेर अङ्ग्रेजीमा खोजी गर्छन्, तब उक्त स्थानबारे प्रमाणित जानकारी गुगलले विकिएनपी बाट लिएर देखाएको छ।
यति सम्म कि रुन्चेत गाउँको सेमि नलेज प्यानल नै विकिएनपीमा भएको लेखको भरमा गुगलले बनाएको देखिन्छ। किनभने यो स्थानबारे कुनै ठूला समाचार माध्यम वा विकिपिडिया जस्ता साइटहरूमा कुनै जानकारी छैन।

कुरा यहाँ रुन्चेत गाउँको मात्र होइन, अहिले विकिएनपीमा बनेका प्रायः सबै लेखहरूको शीर्षक गुगलमा खोज्दा पहिलो पृष्ठमै विकिएनपीको नतिजा आइरहेको छ। जबकि बाह्रबिसे, सिन्धुपाल्चोक जिल्ला जस्ता स्थानबारे विकिपिडिया र अन्य विश्वसनीय समाचार माध्यममा जानकारी भए पनि विकिएनपीको लेख कतै दोस्रो स्थानमा त प्रायः पहिलो पृष्ठमै आइरहेको छ।
अब कुरा गरौँ — यो विषय किन समाचार बन्न लायक बन्यो भन्ने बारे
हामीले सुरुमै कुरा गरेका थियौँ कि गुगलले यस्ता जानकारी खासगरी नलेज प्यानल मा समावेश गर्दा अत्यधिक विश्वसनीय डोमेन मात्र प्रयोग गर्ने गरेको इतिहास छ। तर आजको दिनमा विकिएनपीको डोमेन इतिहास हेर्ने हो भने जम्मा पाँच महिना पुरानो छ। र डोमेनको अधिकार (Authority) जाँच गर्ने उपकरण Moz अनुसार विकिएनपीको डोमेन अथोरिटी जम्मा ९ मात्र छ।
जबकि विकिपिडिया, चलचित्र डेटाबेस साइटहरू (IMDb) जस्ता नलेज प्यानलमा प्रयोग हुने स्रोतहरूको डोमेन अथोरिटी ९० भन्दा माथि हुन्छ। त्यसैले जम्मा पाँच महिना पुरानो साइटमा रहेको जानकारीलाई गुगलले यति विश्वास गरेर आफ्नो नलेज ग्राफ मा समावेश गर्नु — वा भनौँ विकिएनपीले छोटो समयमा यो स्तर पार गर्नु — एउटा इतिहासको विषय बनेको छ। त्यसैले आज हामी यो समाचार पढ्दैछौँ।
अब हेरौँ खासमा यो गुगल नलेज प्यानल के हो भन्ने बारे
गुगलमा जब हामी कुनै प्रसिद्ध व्यक्ति, ठाउँ वा संस्था खोज्छौँ — जस्तै “सगरमाथा”, “सन्दीप लामिछाने” वा “त्रिभुवन विश्वविद्यालय” — त्यसबेला स्क्रिनको दायाँपट्टि एउटा सानो बाकस देखिन्छ, जहाँ नामसँगै छोटकरीमा परिचय, स्थान, मिति र आधिकारिक लिङ्कहरू देखिन्छन्। त्यही भागलाई गुगलले “नलेज प्यानल” भन्छ।
तर त्यो जानकारी सामान्य वेबसाइट वा ब्लगबाट आउँदैन। गुगलले त्यो बनाउँछ आफ्नै “ज्ञान–सङ्ग्रह” भनिने डेटाबेसबाट, जसमा विश्वका सबैभन्दा भरपर्दा र संरचित तथ्यहरू मात्र समावेश गरिएका हुन्छन्। साधारण भाषामा भनौँ भने — यो गुगलको आफ्नै “विश्वको तथ्य–भण्डार” हो, जहाँ गलत कुरा पर्नै नदिने गरी स्वचालित प्रणालीले छनोट गर्छ।
त्यसमा प्रायः विकिपिडिया, विकिडाटा, ब्रिटानिका, चलचित्र डेटाबेस साइटहरू, सरकारी निकायका वेबसाइटहरू वा अन्तर्राष्ट्रिय समाचार माध्यमका तथ्यहरू मात्र समावेश हुन्छन्। त्यसैले जब त्यही प्यानलमा विकिएनपी (Wikinp.org) देखिन थाल्छ, त्यसको अर्थ हो — “गुगलले अब यो नेपाली साइटका तथ्यहरूलाई पनि विश्वसनीय मानेको छ।”
यति मात्र होइन, गुगलले यस्ता प्यानलमा कुनै पनि नयाँ वेबसाइटको तथ्याङ्क तुरुन्त राख्दैन। धेरैजसो साइटले वर्षौँसम्म निरन्तर अपडेट, प्रमाणित सन्दर्भ र प्रविधिक संरचना मिलाएपछि मात्रै त्यहाँ स्थान पाउँछन्। तर विकिएनपीको हकमा भने जम्मा पाँच महिनाको छोटो अवधिमै त्यस्तो स्तरमा पुग्नु, त्यो पनि कुनै ठूला प्राविधिक टोली वा महँगो सफ्टवेयर होइन — एउटा निशुल्क वर्डप्रेस साइटबाट — साँच्चै असाधारण कुरा हो।
अझ चाखलाग्दो अर्को विषय त के छ भने, विकिएनपी कुनै ठूलो संस्था, वा कोडिङको राम्रो ज्ञान भएको विकासकर्ता टोली वा आइटी विज्ञले बनाएको होइन। यो त सिन्धुपाल्चोक जिल्लाको एउटा बिकट गाउँको सामान्य परिवारमा जन्मिएका, कक्षा १२ सम्म सरकारी विद्यालयमा पढेका, र कोडिङ वा एसईओ (SEO) बारे कुनै औपचारिक पढाइ वा तालिम नलिएका एक पत्रकार — रोशन श्रेष्ठ — ले अनलाइनबाट आफैं सिक्दै बनाएको निशुल्क साइट हो।
त्यो पनि कुनै ठूला र अत्याधुनिक सफ्टवेयर प्रयोग नगरी, सामान्य वर्डप्रेसमा कस्टम डिजाइन गरेर श्रेष्ठले एक्लै निर्माण गरेका हुन्। यसरी सबै स्थान र व्यक्तिबारे जानकारी राख्न मिल्ने विकिपिडिया जस्तो अन्तर्राष्ट्रिय मान्यता प्राप्त वेबसाइट हुँदा हुँदै पनि किन विकिएनपीको सुरुवात भयो भन्ने प्रश्नमा श्रेष्ठ भन्छन् —
“झट्ट हेर्दा विकिपिडिया निशुल्क र जो–कसैले लेख्न मिल्ने प्लेटफर्म हो भन्ने लाग्छ, तर वास्तवमा त्यस्तो होइन। विकिपिडियामा कुनै पनि लेख टिकाउनको लागि त्यस विषयमा ठूला मिडियाले समाचार प्रकाशित गरिसकेको हुनुपर्छ। विकिपिडियाको त्यो नियम गलत होइन, तर सोच्ने कुरा के छ भने — रुन्चेत गाउँ जस्तो सुन्दर र पर्यटकीय ठाउँबारे समाचार नै नभएको कारण यसको विकिपिडिया बन्न सक्दैन।
के समाचार नभएका कारण यस्ता ठाउँहरू, जसलाई विश्वले चिन्नै पर्छ, गुमनाम रहुनु न्यायोचित हो त ? हो, यही प्रश्नको जवाफका लागि बनेको हो विकिएनपी, अर्थात् यदि कुनै कुरा सत्य हो, प्रमाणित छ, र त्यसले समाजलाई केही योगदान दिन्छ भने, त्यसले डिजिटल संसारमा स्थान पाउनै पर्छ — चाहे त्यसबारे समाचार लेखिएको होस् वा नहोस्।”
श्रेष्ठ थप्छन् — “म विश्वस्त छु, विश्वमा यस्ता धेरै स्थान र विषय छन्, जुन साँच्चै उल्लेखनीय छन्, तर केवल समाचार नभएका कारण तिनीहरूले विकिपिडियामा स्थान पाएका छैनन्।”
श्रेष्ठका अनुसार विकिएनपीमा जसले जे पनि लेख्न पाउँछ भन्ने होइन।
यहाँ पनि केही सीमाहरू छन् — कुनै व्यक्ति वा संस्थाबारे लेख लेख्नु अघि कम्तीमा त्यसबारे तीनवटा विश्वसनीय समाचार माध्यममा लेख प्रकाशित भइसकेको हुनुपर्छ। तर कुनै स्थान (गाउँ, नगर, जिल्ला आदि) को बारेमा लेख्दा भने बिना समाचार स्रोत पनि लेख्न पाइने सुविधा दिइएको छ। यहाँ विश्वका जो–कसैले निशुल्क लेख लेख्न सक्छन्, तर हरेक लेख एडमिन वा सम्पादकले प्रमाणित गरेपछि मात्रै प्रकाशित हुन्छ — ताकि प्रयोगकर्ताले गलत जानकारी नपाउँन्।
हाल विकिएनपी अझै सुरुवाती चरणमै छ। समयक्रम अनुसार यसका नीति र सीमाहरू फेरिन सक्छन्, तर अहिलेका लागि विकिपिडियामा स्थान पाउन नसकेका विषयहरूका लागि, र आफ्नै गाउँ–ठाउँलाई विश्वसामु चिनाउन चाहने सबैका लागि, विकिएनपी एक राम्रो र सजिलो माध्यम बनेको छ।
गुगलले यही गतिमा विकिएनपीमाथि विश्वास बढाउँदै लैजाने हो भने, भविष्यमा विकिएनपी विकिपिडियाको वैकल्पिक (Alternative) स्रोत बन्ने सम्भावना प्रबल देखिन्छ। तर हालका लागि, कुनै विज्ञापन वा सहयोगबिना, केवल एक व्यक्तिको आम्दानीबाट सञ्चालन भइरहेको यो वेबसाइट भविष्यमा अझ ठूलो बन्दै जाँदा प्रविधिक मर्मत र सञ्चालनका लागि आवश्यक स्रोत कसरी जुटाइन्छ — त्यो भने हेर्न बाँकी र चुनौतीपूर्ण विषय बनेको छ।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- श्याम घिमिरे भन्छन्– निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन गर्दैछौं, चाँडै पार्टीमा बुझाउँछौं
- ओलीको घोषणा: म बोल्छु, अनि महाधिवेशन त्यत्तिमै सकिन्छ
- आइतबार सुनको मूल्य बढ्यो, चाँदीमा सानो गिरावट
- विशेष वा नियमित, तर पुस २९ भित्र महाधिवेशन हुनैपर्छः विश्वप्रकाश शर्मा
- सुशासन र पारदर्शिताको बाटोमा सरकार अडिग छः गृहमन्त्री